राष्ट्रपतिद्वारा एकैदिन १० वटा ऐन प्रमाणीकरण, शिक्षा ऐन परेन

19

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार एकै दिन १० वटा ऐन प्रमाणीकरण गरेकी छन् । तर, त्यो सुचिमा शिक्षा ऐनको नवौं संशोधन विधेयक भने अटाएन । १२ असोजमा संसद्बाट पारित शिक्षा ऐन विवादास्पद बनेपछि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेकी हुन् ।

यसअघि पनि राष्ट्रपतिले शिक्षा बाहेकका अन्य विधेयक प्रमाणित गरेकी थिइन् । तर, दोस्रो पटकमा पनि शिक्षा विधेयक उनको प्राथमिकतामा नपरेको हो ।

अस्थायी शिक्षकमध्ये ६० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने र परीक्षामा फेल भए पनि आर्थिक सुविधा दिने व्यवस्थासहितको शिक्षा ऐन नवौँ संशोधनको चौतर्फी विरोध हुँदै आएकाले उनले यसलाई तत्काल प्रमाणित गर्ने सम्भावना देखिएको छैन । उता, विद्यार्थी संगठनलगायतले नवौँ संशोधन खारेजीको माग गर्दै सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै आएका छन् ।

संविधान घोषणापछि संविधानसभाबाट रूपान्तरित संसद्ले पारित गरेका ५६ विधेयकमध्ये राष्ट्रपतिबाट अहिलेसम्म ४९ वटा विधेयक प्रमाणीकरण भइसकेका छन् भने ७ वटा प्रमाणीकरणको प्रक्रियामा छन् । वैशाखदेखि हालसम्म राष्ट्रपतिले ३३ वटा ऐन प्रमाणीकरण गरिसकेकी छिन् ।

आइतवार प्रमाणीकरण भएका ऐन

१.राष्ट्रिय दलित आयोग ऐन

२. अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन

३.स्थानीय सरकार सञ्चालन ऐन

४.थारू आयोग ऐन

५.प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन

६.उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी ऐन

७. राष्ट्रिय महिला आयोग ऐन

८. मुस्लिम आयोग ऐन

९. कर्मचारी समायोजन ऐन

१०. राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन

प्रमाणीकरण हुन बाँकी विधेयक

१. शिक्षा नवौँ संशोधन विधेयक

२. भाषा आयोग विधेयक

३. राजर्षि जनक विश्वविद्यालय विधेयक

४.प्रदेश प्रमुखको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक

५.विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक

६.वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने विधेयक

७.स्वास्थ्य बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक