आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि दलहरुले चुनावी अभियान तिब्र पारेका छन् । कांग्रेस, वाम गठबन्धनलगायत साना दलहरू मतदाता फकाउन गाउँ पसेका हुन् । गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ आफ्ना कार्यकर्ता सहित घरदैलो गरिरहेका छन् । उनले बन्दिपुर, भानु, व्यास, आबु लगायतका ठाउँहरुमा पार्टीका प्रतिनिधि र मतदातासँग बृहत् छलफल चलाए ।
त्यस्तै कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा उम्मेदवारी दिएका वरिष्ठ नेता रामचन्द्र पौडेल भोट माग्दै घर दैलो गरिरहेका छन् । उनलाई कार्यकर्ताले भावी प्रधानमन्त्रीको रुपमा हेर्ने गरेका छन् । पौडेलले हालसम्म भएको निर्वाचनमा पराजय भोग्नु परेको छैन । उनी छैटौं पटक निर्वाचन लड्दै छन् र यो चोटि डबल ह्याट्रिक गरि निर्वाचन जित्ने रणनीतिमा लागेका हुन् ।
उनले ०४८, ०५१, ०५६, ०६४ र ०७० का निर्वाचनमा विजयी प्राप्त गरेतापनि यो चुनाव भने सहज देखिएको छैन । वाम गठबन्धनले अन्तर्घात नगरिकन भोट हाले भने पौडेलको डबल ह्याट्रिक गर्ने सपना चकनाचुर हुनेछ । एमाले र माओवादीको तालमेलले पौडेललाई निर्वाचन जित्न निकै कठिन बनाएको कार्यकर्ताहरुको विश्लेषण छ । स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा बामगठबन्धन नै बलियो देखिन्छ ।
त्यस्तैगरी, क्षेत्र नम्बर २ को प्रदेश ‘क’ र प्रदेश ‘ख’ मा कांग्रेस र एमालेका दुई प्रभावशाली केन्द्रीय नेताहरु प्रतिस्पर्धामा छन् । दुबै नेता क्षेत्र एउटै भए पनि प्रदेश फरक फरक भएका कारण तनहुँका मतदातालाई भने नेता छनौट गरी मतदान गर्न सहज हुने अनुमान लगाउन सकिन्छ । कार्यकर्ताले दुवै नेतालाई मुख्य मन्त्रीको दाबेदारका रुपमा हेरेका छन् । प्रदेश ‘क’ मा कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य प्रदिप पौडेल र प्रदेश ‘ख’ मा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङको प्रतिस्पर्धाले त्यस क्षेत्रको निर्वाचन रोचक हुने अपेक्षा गरिएको छ ।
कांग्रेसका उम्मेदवार पौडेलसँग विनाविभागिय मन्त्री आशा कोइराला प्रतिस्पर्धामा छन् । यी दुबै तनहुँको राजनीतिमा पुरानै अनुहार हुन् । दुबैको कडा प्रतिस्पर्धा हुने देखिएको छ । कसले आफ्नो पक्षमा मतदातालाई रिझाउन सक्छ, उसले नै बाजी मार्ने सर्बसाधारणको अनुमान रहेको छ । पौडेल भने मतदातासँग मत माग्दै गाउँ गाउँ पुगेका छन् । पौडेल सार्वजनिक ओहोदाको पदमा नरहेतापनि ग्रामीण क्षेत्रमा विकासका योजना र सामाजिक सेवामा काम गर्ने गरेकाले सर्वसाधारणमा लोकप्रिय मानिन्छन् । यो निर्वाचनमा बाजी मार्न सकेको खण्डमा कांग्रेसको तर्फबाट उनी प्रदेश नम्बर ४ को मुख्य मन्त्री बन्ने बलियो खम्बाको रुपमा देखिएका छन् ।
वामगठबन्धनबाट उम्मेदवारी दिएका किरण गुरुङ कडा प्रतिस्पर्धीको रुपमा देखिएका छन् । उनलाई एमालेको तर्फबाट मुख्य मन्त्रीको दाबेदारको रुपमा हेरिएको छ । उनी कांग्रेसका संसदीय दलका सचिब ध्रुव वाग्लेसँग प्रतिस्पर्धा गर्दैछन् । वाग्ले पनि कमजोर उम्मेदवार होइनन् । दुबै जना आ–आफ्नो पार्टीको प्रभावशाली नेताको रुपमा मानिन्छन् । एमालेले जित्दै आएको त्यस क्षेत्रमा भने वाग्लेले कडा मेहेनत गर्नुपर्ने कार्यकर्ताहरुको अनुमान छ । उनीहरु दुबैले आफ्नो क्षेत्रको विकासका लागि पहल गर्ने र जनताको सेवक बनेर काम गर्ने बताउछन् । साभार नयांपत्रिका