काठमाण्डाैं । जेन–जी समूहले उच्च सरकारी निकायहरूमा ‘प्रत्यक्ष उपस्थित भएर दबाब दिने’ चेतावनी दिएपछि सरकारले राजधानीका प्रमुख संवेदनशील स्थानहरूमा आज बिहानैदेखि विशेष प्रहरी कमाण्डो टोली परिचालन गरेको छ।
प्रहरी स्रोतका अनुसार बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास बालुवाटार, टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र अन्य संवेदनशील सरकारी कार्यालयहरूमा सशस्त्र प्रहरी र कमाण्डो टोली तैनाथ गरिएको छ।
स्रोतका अनुसार, ती क्षेत्रमा पूर्व–चयन गरिएका विशेष प्रशिक्षणप्राप्त अधिकृतहरूलाई बोलाएर स्थायी रूपमा खटाइएको हो। कमाण्डो टोलीलाई भीड नियन्त्रण, नियन्त्रण आदेश उल्लंघन भए बल प्रयोग गर्नेसम्मको अधिकार दिइएको छ।
प्रहरीका एक वरिष्ठ कमाण्डो अधिकारीले भने,
“संवेदनशील क्षेत्रमा कुनै पनि भीड जम्मा भए वा सुरक्षालाई चुनौती दिने गतिविधि भए तत्काल चेतावनी दिइनेछ, आवश्यक परे बल प्रयोग गरिनेछ।”
यो तैनाथी जेन–जी मुभमेन्ट अलायन्सले आइतबार प्रधानमन्त्री निवास र अख्तियार आयोगलाई प्रत्यक्ष पत्र बुझाउने चेतावनी दिएको एक दिनपछि गरिएको हो। समूहले प्रमुख आयुक्त प्रेमकुमार राई र उनका सहकर्मी आयुक्तहरूलाई ७ दिनभित्र राजीनामा दिनु पर्ने अल्टिमेटम दिएको थियो।
बालुवाटारमा रातभरिको तनावपूर्ण बैठक
प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङबीच सोमबार राति बालुवाटारमा सुरक्षा मूल्यांकनका लागि बैठक बसेको थियो।
बैठकमा जेन–जी समूहका केही प्रतिनिधिहरूले आयोग र प्रधानमन्त्री कार्यालयमै गएर दबाब दिने चेतावनी दिएको विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ।
बैठकमा IGP खापुङले प्रहरीमाथि गरिएको धम्की र आक्रामक व्यवहारप्रति असन्तुष्टि जनाएका थिए।
प्रधानमन्त्री कार्कीले त्यसबारे टिप्पणी गर्दै भनेकी थिइन्,
“प्रहरीको मनोबल खस्किने कुनै पनि कार्य जायज होइन, कानुनी मर्यादाभित्र रहेर संयम र दृढताका साथ काम गर्नुपर्छ।”
बिहानैदेखि विशेष सुरक्षा घेरा
प्रधानमन्त्रीको निर्देशनबमोजिम मंगलबार बिहानैदेखि राजधानीका विभिन्न स्थानमा कडा सुरक्षा निगरानी सुरु गरिएको छ।
कमाण्डो टोलीसँगै प्रहरीको ‘मोबाइल र्यापिड एक्सन युनिट’ पनि तयारी अवस्थामा राखिएको छ।
अख्तियार आयोग, प्रधानमन्त्री निवास र सिंहदरबार क्षेत्र वरिपरि सुरक्षा चेकपोस्टहरूको संख्या दोब्बर गरिएको प्रहरी स्रोतले जनाएको छ।
साथै, जेन–जीका प्रमुख नेताहरूको गतिविधि र डिजिटल संचारसमेत निगरानीमा राखिएको बताइएको छ। हिमाली खबर















