८ पौष २०७४ ।
मानवअधिकारकर्मी मुकुन्दराज कट्टेललाई तमिलनाडुको त्रिचीरपली विमानस्थलबाट भारत प्रवेशमा रोक लगाएको घटनाप्रति राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) चासो व्यक्त गर्दछ ।
थाइल्याण्ड हुँदै तमिलनाडुको त्रिचीरपली अन्तर्राष्टिय विमानस्थलबाट अघिल्लो दिन भारत प्रवेश गर्ने क्रममा निज कट्टेललाई भारतीय अधिकारीले विना कुनै जानकारी १८ घण्टासम्म इमिग्रेसनमा राखी २० डिसेम्बर राती करिब १०.३० बजे पुनः थाइल्याण्ड फर्काएको सूचाना प्राप्त भएको छ । इमिग्रेसनमा रहुन्जेल उहँलाई किन प्रवेश दिइएन भन्ने सम्म पनि जानकारी नगराइएको खवरले भारतले व्यक्तिको स्वतन्त्रतापूर्वक घुमफिरको अधिकार हनन् गरेको मानवअधिकार एलाइन्सको ठहर रहेको छ । नियन्त्रणमा रहेको वेला वाह्य सम्पर्क गर्न पनि नदिएको घटनाले भारतसरकारको मानवअधिकारप्रतिको दृष्टिकोणमा गम्भीर प्रश्न उव्जेको छ ।
यस घटनाले नेपाल भारत शान्ति तथा मैत्री सन्धी १९५० को पालना नभएको स्पष्ट हुन्छ । सन्धीको धारा ६ र ७ ले नेपाल र भारतका नागरिक एक अर्का देशका मुलुकमा विना रोकटोक घुमफिर गर्न, आवास, उद्योगधन्दा लगायत पेशाव्यवसायमा संलग्न हुन पाउने स्पष्ट गरेको छ । यसबाट व्यक्तिको स्वतन्त्र आवागमनको अधिकारको हनन् भएकोे र व्यक्तिले सूचना पाउनु पर्ने अधिकारको समेत हनन् भएको ठहर मानवअधिकार एलाइन्सले गरेको छ । यस घटनाले मानवअधिकार रक्षकहरु प्रति भारत सरकारकोे दृष्टिकोण असल नभएको समेत मानवअधिकार एलाइन्सले महसुस गरेको छ ।
विगत २० वर्ष देखि मानवअधिकारका क्षेत्रमा क्रियाशील मुकुन्दराज कट्टेल थाइल्याण्ड स्थित एशियाभर सञ्जाल भएको संस्था फोरम एसियाको सचिवालयमा निर्देशक हुनुहुन्छ । मानवअधिकार एलाइन्स यस घटनाको तथ्य सार्वजनिक गर्न र यस्ता घटनाहरु दोहोरिन नदिन र मानवअधिकार रक्षकहरुप्रति सकारात्मक भाव राख्न भारत सरकार समक्ष अपिल गर्दछ । साथै घटना किन हुन गयो भन्ने जानकारी लिई सार्वजनिक गर्न समेत नेपाल सरकारसमक्ष आग्रह गर्दछ ।