श्याम थापा
सुस्ता ८ कार्तिक, नवलपरासी ।
नवलपरासी जिल्लाको सुस्तामा २ जना भारतीयहरुले एक नेपाली महिलालाई बलात्कार गरि फरार भएका छन । भारतबाट मिनमेल गरि सुस्ता फर्कदै गरेकाे अवस्थामा २ जना भारतीय नागरिकहरुले सीमा नजिकैकाे भारतीय जंगलमा समातेर बलात्कार गरेकाे घटना २ दिन पश्चात चर्चामा अाएकाे हाे । घटनाकाे जिज्ञासा राख्दा नवलपरासी प्रहरी प्रशासन बेखबर रहेकाे अवस्था छ ।
कार्तिक ६ गतेका दिन सुस्तामा बस्ने लोनिया थरकी अन्दाजी ५० बर्षकी महिलालाई भारत बिहार बजारबाट फर्कदै गर्दा नेपाल र भारतको सिमा नजिकैको जङ्गलमा उनको बलात्कार भएको पीडितका छिमेकीले बताएका छन् । पीडित परिवारले घटनाबारे मुख नखाेलेकाे तर तिनीसंगैकी भाग्न सफल भएकी अर्की महिलाबाट कुरा खुल्न अाएकाे बताइएकाे छ । ती महिला पुरूषाहरूकाे घेराबाट भागेर बचेकी हुन् ।
घटनाले सुस्तावासीलाइ नराम्ररी झस्काएकाे छ । घटना घटेको २ दिन बितिसक्दा पनि नेपाली प्रहरी प्रशासन भने बेखबर बनेको छ । सो विषयमा ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिंह थापालाई सोध्दा घटना भारतको भुमिमा भएको र पीडकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको बताए ।
सुस्ताबासीका लागि पासाेकाे रूपमा रहेकाे नारायणी नदीका कारण दैनिक उपभाेग्य वस्तुकाे किनमेल देखि लिएर कुटानि पिसानी गर्न समेत भारतीय भूमिकाे शरण लिनु पर्ने बाध्यता रहेकाे छ । यसका लागि सुस्तावासी भारतकै बिहारको भेडिहारी बजार र अर्को उत्तर प्रदेश राज्यको बहुवार बजार धाउंछन् ।
एकातिर सुस्तावासी पुरुषहरुमाथि भारतीय अपराध थाेपरेर वान्टेडको सुचिमा राखेकाे बेला घरधन्दा हेर्न महिला नै अगाडि बढिरहेकाे अवस्थामा नेपाली महिलामाथि भएकाे यस बलात्कारकाे घटनाले सुस्तालाइ त्रसित बनाएकाे छ ।