बर्दघाट, पश्चिम नवलपरासी । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पश्चिम नवलपरासीको बर्दघाटमा असार ७ गते बृहद् योग शिविर सञ्चालन गरिने भएको छ। शिविरको तयारीबारे जानकारी दिन त्रिनेत्र बुद्ध मङ्गल योग समिति, जिमिरेभारले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको हो।
समितिका अध्यक्ष नरेश पँगेनीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा नगर प्रमुख श्रेष्ठले आगामी माघ १ गते बर्दघाट नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
उहाँले नगर क्षेत्रमा दीर्घरोगीको संख्या बढ्दै जानु, अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण विभिन्न स्वास्थ्य समस्या देखिन थालेको उल्लेख गर्दै योग स्वस्थ जीवनको प्रभावकारी माध्यम भएको बताउनुभयो। भौतिक पूर्वाधार विकाससँगै स्वस्थ नगर निर्माण अभियानलाई सफल बनाउन नगरपालिकाले योग क्षेत्रको विकासमा आवश्यक लगानी गर्दै आएको उहाँको भनाइ थियो।
कार्यक्रममा समितिका अध्यक्ष पँगेनीले असार ७ गते हुने बृहद् योग शिविरको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै शिविरलाई भव्य र सफल बनाउन नगरवासीलाई सहभागिताका लागि आग्रह गर्नुभयो। उहाँका अनुसार बर्दघाट नगरपालिकाका १० वटा वडामा रहेका १२ साधना केन्द्रमार्फत नियमित योग अभ्यास सञ्चालन भइरहेको छ।
योग अभियानमा नगरपालिकाले निरन्तर सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै उहाँले बाँकी ६ वडामा समेत साधना केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै आगामी माघ १ गते बर्दघाटलाई औपचारिक रूपमा ‘योग नगर’ घोषणा गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।
पत्रकार सम्मेलनको सञ्चालन समितिका सचिव प्रकाश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमबारे जानकारी समितिकी सदस्य अप्सरा श्रेष्ठले दिनुभएको थियो।


















