प्रधानमन्त्री ओलीलाई तीन चौथाइ सांसदको विश्वास मत

20

२७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ बढी सांसदको विश्वास मत पाएका छन् ।

माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत मागेका थिए । त्यसक्रममा उनले भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्दै सत्तापक्ष र प्रतिपक्ष नभनी मिलेर जान प्रस्ताव राखे ।

सम्बोधनका क्रममा अधिकांश दलले समर्थन गरेपनि कांग्रेसले प्रतिपक्षमा बस्ने धारणा राखेको थियो ।

लगतै भएको मतदानमा प्रधानमन्त्री ओलीले २०८ मत पाएका छन् । सत्तारुढ एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपासहित केही साना दलले मत दिएका छन् ।

प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएनन् ।

नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै थिएनन् ।

आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको हकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।