श्रीराम सिग्देल, नवलपुर (कावासोती)
राज्यको पुनसंरचना संगै विभिन्न प्रदेशमा विभाजन हुने क्रममा नवलपरासी दुइ वटा प्रदेशमा विभाजन भएपछि ५५ वर्ष पछाडी नवलपुरले नेपालमा नयाँ जिल्लाको रुपमा मान्यता प्राप्त गरेको छ। २०१९ साल अघिको पुरानो पाल्ही पूर्व नवलपुर र पाल्ही माझ खण्ड परासी यतिवेला टुक्रिएको हो । पञ्चायती ब्यवस्थाको शुरुवात संगै २०१९ सालमा नवलपुर र पाल्ही माझखण्डको परासी क्षेत्रलाई मिलाएर नवलपरासी नामाकरण भएको थियो। अहिलेको राज्य पुनर्संरचनामा नवलपरासी जिल्लाको वर्दघाट सुस्ता पूर्वको भाग प्रदेश नं. ४ र बर्दघाट सुस्ता पश्चिमको भाग प्रदेश नं. ५ मा विभाजन भएको छ । एउटै जिल्ला भए पनि यहाको नवलपुर र परासी क्षेत्रमा भौगौलिक विविधता, भाषिक एवं सास्कृतिक विविधता रहेको छ । जिल्ला विभाजन संगै नवलपरासीको कूल क्षेत्रफल २१६२ वर्ग कि.मी. मध्ये दुई तिहाई भाग अर्थात एक हजार ४०० वर्ग कि.मी. क्षेत्रफल नवलपुरमा पर्दछ । साथै २०६८ को जनगणना अनुसार ३ लाख १५ हजार जनसंख्या नवलपुर क्षेत्रमा बसोवास गर्दछन् ।तर जनसंख्याको अत्याधिक वृद्धि भइरहेको हुदा यहाँको जनसंख्या ४ लाखको संख्यामा नाघेको अनुमान गरिएको छ । क्षेत्रफल, जनघनत्व र साक्षरताको दृष्टिले कास्की जिल्ला पछि दोस्रो स्थान सिङ्गो जिल्ला टुक्रिएर बनेको नवलपुरले ओगटेको छ । प्रदेश नं. ४ लाई भारत संग जोड्नका लागि दक्षिणी सिमावर्ती को रुपमा नवलपुर रहेको छ । नवलपुर विना प्रदेश नं. ४ को भारत प्रवेश सहज छैन । तसर्थ पुनरसरचनाको क्रममा भाषिक एवं सास्कृतिक एकताको मिलन हुने भन्दै नवलपुरबासीले आफुहरु पोखरालाई राजधानी मान्न तयार हुदै ४ नं. प्रदेशमानै मिसिन पाउनुपर्ने माग सहितका आन्दोलन गरेका थिए । यस क्षेत्रमा वसोवास गर्नेहरु मध्ये नवलपुरका आदिवासी थारु समुदाय वाहेक अन्य ९० प्रतिशत मानिसहरु ४ नं. प्रदेशका विभिन्न जिल्लाबाट बसाई सराई गरी आएका छन् । तसर्थ यहाको भेष भुषा,रहन सहन सवै एकै प्रकारको छ । विशेषत नवलपुर को त्रिवेणी लाई भारत संग जोड्ने नाकाको रुपमा प्रयोग हुनेछ । त्रिबेणी क्षेत्र जुन धार्मिक पर्यटकीय दृष्टिले समेत सर्वाेत्कृष्ट छ । त्रिबेणी स्थित गण्डक ब्यारेज(पूल)ले नै प्रदेश नं. ४ लाई सिधा भारत संग जोड्ने सेतुको काम गर्नेछ । दक्षिणी छिमेकी भारतलाई जोड्ने सहज माध्यमको रुपमा रहेको नवलपुर मार्फत ४ नं. प्रदेशले भविष्यमा धेरै फाईदाहरु लिन सक्नेछ । त्रिबेणीमा रहेको छोटी भन्सारलाई स्तरोन्नती भने गर्नु पर्दछ । समथर भुभाग र जनसंख्याको कमी रहेको यस प्रदेशमा नवलपुरको समथर भुभाग बरदान सावित बन्नेछ । यहाँको भुभागमा औधोगिक क्षेत्र स्थापना गर्न सकिनेछ । नेपालकै ठूलो फलाम खानी यहीको हुप्सेकोट गाउपालिका अन्तरगत धौवादीमा रहेको छ । यसलाईै उत्खनन् गर्न सकेमा ४ नं. प्रदेशको आर्थिक सम्बृद्धि सहज हुनेछ । पोखरा वाहेक अन्यत्र औधोगिक स्थल नभएको अवस्थामा नवलपुरमा रहेका विभिन्न उद्योगहरुले आन्तरिक राजश्वमा महत्वपूर्ण टेवा पु¥याउन सक्नेछन् । यहाँको समथर भुभागमा आन्तरिक हवाई उड्डयनको लागि विमानस्थल समेत निर्माण गर्न सकिनेछ। स्थलमार्ग र हवाइमार्ग हुदै पोखरा, जोमसोम आएका पर्यटकलाई नारायणी नदीमा -याफ्टिङ, चितवन राष्ट्रिय निकुन्जमा वन्यजन्तु अवलोकनका साथै थारु होमस्टे, नवलपुरकै अग्लो पहाड देवचुली डाँडाले पर्यटकहरुलाई मनोरञ्जन दिलाउन मद्धत गर्नेछ । नवलपुरको सिख्रौली देखि त्रिबेणी सम्म करिव एक सय वर्ग कि.मी. क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज फैलिएको छ । निकुञ्ज भित्रको गिद्ध रेष्टुरेष्ट, अमलटारी प्रवेशद्वार प्रख्यात पर्यटकीय क्षेत्र हुन् । यी क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गर्दछन् । भविष्यमा अमलटारी चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार वन्न सक्नेछ । यहाको पर्यटनले चितवनको सौराहालाई विस्थापित गर्न सक्ने पर्यटनमा लागेकाहरुले बताएका छन् । निकुञ्जका जंगली जनावर र प्रकृति संग रमाउनका लागि अमलटारी बरदान नै सावित भएको छ । सौराह क्षेत्रबाट निकुञ्ज घुम्दा देखिने जंगली जनावरहरु यहाँ निकुन्जको जंगलनै प्रवेश नगरी गाउँवाटै अवलोकन गर्न सकिनेछ । त्यती मात्र नभई गुन्द्रही ढकाहा मध्यवर्ती वनको क्षेत्रमा विभिन्न प्रजातीका जीवजन्तु र जंगली जनावरहरु बाघ, गैडा, भालु, हात्ति, चित्तल, गोही र चराचुरुङ्गीहरु पाइन्छ ।
![](http://www.onlinejanata.com/wp-content/uploads/2017/09/Pradesh-no-4.jpg)
यसका साथै अमलटारीमै हुने विश्व हात्तीपोलो प्रतियोगिता पर्यटकको आकर्षण बनेकोछ । जसबाट नवलपुरले मात्र नभई यस प्रदेशले नै प्रशस्त नाफा कमाउन सक्छ । यस अर्थमा भन्नुपर्दा नवलपुर क्षेत्र, ४ नं. प्रदेशको पर्यटन विकासमा मेरुदण्ड सावित हुनेमा द्विविधा नरहला । ४ नं. को शिरमा रहेको पवित्र तिर्थस्थल मुक्तिनाथ लाई पुछारमा रहेको त्रिबेणीमा जोड्ने गजवको संयोग समेत मिलेको छ । यसले गर्दा धार्मिक पर्यटन होस या औधोगिक क्षेत्रमा यसले फड्को मार्न सक्नेछ । भारतीय तीर्थयात्री एवं पर्यटकलाई त्रिवेणी हुदै कालीगण्डकी करीडोरको वाटो या कावासोतीवाट सिधै पोखरा सम्म जोड्नको लागि पनि नवलपुर उत्तम स्थल हुनेछ । प्रस्तावित प्रदेश राजधानी पोखरा र प्रस्तावित नवलपुर जिल्लाको सदरमुकाम कावासोती सम्मको दुरी जम्मा ९० कि.मी. रहेको छ । कावासोती–भिमाद–पोखरा जोड्ने बाटोलाई प्रादेशिक राजमार्ग बनाउन सकेमा अन्य प्रदेशको तुलनामा ४ नं. पनि मजबुत बन्ने देखिन्छ । यदि यो राजमार्गले सार्थकता पाएमा पहाडी क्षत्रेमा उत्पादन भएका सुन्तला, अदुवा, अम्रिसो का साथै दलहन ले वजार पाउनेछन् । नवलपुरको पहाडी क्षेत्र नगदेवाली उत्पादनका लागि प्रख्यात छ । कावासोती देखि उत्तर कालीगण्डकी सम्म जोड्ने कच्ची सडक सुचारु अवस्थामा छ भने तनहुँ र नवलपुरको डेढगाउँ लाई जोड्न कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणका काम भइरहेको छ । यस प्रदेशको साक्षरता प्रतिशतमा नवलपुरले भने ठूलो योगदान दिएको छ । नवलपुरको साक्षरता ७० प्रतिशत भन्दा माथी छ। जवकी राष्ट्रिय साक्षरता प्रतिशत ६७ रहेको छ भने प्रदेश नं. ४ को समग्र प्रतिशत ६३ रहेको छ । दक्ष जनशक्ति उत्पादनका लागि नवलपुरमा मात्रै १९ वटा क्याम्पस , ५ वटा प्राविधिक शिक्षालय रहेका छन् भने ३ वटामा स्नातकोत्तर तहको पढाई हुदै आएको छ । यसरी नवलपुर शैक्षिक क्षेत्रमा उत्कृष्ट गन्तब्य बन्नेमा दुई मत छैन । ४ वटा नगरपालिका र ४ वटा गाउ पालिका रहेको नवलपुरमा संविधान सभा निर्वाचन २०६४ र ०७० मा ३ वटा निर्वाचन क्षेत्र रहेकोमा निर्वाचन क्षेत्र निर्धारण आयोगले भर्खरै २ वटा निर्वाचन क्षेत्र रहने गरि सिफारिस गरेको छ । अहिलेकै स्थानीय तहको प्रमुखको मतलाई आधार मान्दा यी स्थानीय तहमा नेपाली काँग्रेसले ४७.३५ प्रतिशत र नेकपा एमालेले ४३.९६ प्रतिशत र नेकपा माओवादी केन्द्रले ६.६४ प्रतिशत मत हासिल गरेका छन् । दलहरुले मतको आधार भन्दा पनि दीर्घकालिन रुपमा बैज्ञानिक देखिने गरी निर्वाचन क्षेत्र निर्धारणमा चनाखो हुनुपर्छ । नवलपुरका स्थानीय तहको नामावली , जनसंख्या ,मतदाता संख्या र क्षेत्रफल यस प्रकार रहेको छ । अद्याबधिक पछि वढेको मतादात संख्या यसमा समावेश गरिएको छैन । क्र.सं. – तह-जनसंख्या- मतदाता- क्षत्रेफल वर्ग कि.मी. १. कावासोती नगरपालिका -६२४२१ -३९३३५ – १०८.३४ २. गैडाकोट नगरपालिका – ५८८३६ – ३४८६६ – १५९.९३ ३. देवचुली नगरपालिका – ४२६०३ – २६६७५ – ११२.७२ ४. मध्यविन्दु नगरपालिका – ५४१४०- ३३४९७ – २३३.३५ ५. बुङ्दीकाली गाउँपालिका – १५७३४ – ९०५७ – ९१.८७ ६. बुलिङटार गाउँपालिका – १९१२२ – १०५७९ – १४७.६८ ७. विनयी त्रिबेणी गाउँपालिका – ३७००० – १९३१३ – ३५७.१३ ८. हुप्सेकोट गाउँपालिका – २५०६५ – १३२८२ – १८९.२१ जम्मा……………… – ३१४९२१ – १२६६०४ – १४००.२३
साभार- hulakionline.com