पेट्रोलियम व्यवसायीको दबाब, कमिसन बढाउन मन्त्रीलाई चुनौती

10

काठमाडौं, २५ फागुन |

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई व्यवसायी खुसी पार्ने कि उपभोक्ता अधिकारका पक्षमा निर्णय गर्ने भनेर यतिवेला सकस भएको छ ।

१४ फागुनमा पदभार ग्रहण गरेका उनले १० दिनमा पेट्रोलियम क्षेत्रका सबै व्यवसायीसँग भेट गरिसकेका छन् । र, सबैले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नाफा वृद्धिका लागि मन्त्रीबाट पहलकदमीको आशा व्यक्त गरेका छन् ।

ग्यास उद्योगी र विक्रेताले हाकाहाकी ५–६ वर्षदेखि नाफा वृद्धि नभएकाले यसपटक मन्त्री यादवले पहल लिनुपर्छ भनेका छन् । २० फागुनमा मन्त्री यादवलाई भेटेर ग्यास उद्योगीले स्वतन्त्र अध्ययनका आधारमा नाफा वृद्धि गर्ने स्थायी संयन्त्रको विकास गर्नुपर्छ भनेको छ ।

संघ अध्यक्ष गोकुल भण्डारीले नाफा वृद्धिका लागि बारम्बार विभिन्न मन्त्रीलाई गुहार्नुको सट्टा स्थायी संयन्त्र विकास गर्न मन्त्री यादवलाई सुझाब दिइएको बताए ।

‘हामीले ५ वर्षदेखि एउटै नाफादरमा काम गरिरहेका छौँ, यो अवधिमा लागत धेरै बढेको छ,’ नेपाल र नारायणी ब्रान्डको ग्यास उद्योग सञ्चालकसमेत रहेका भण्डारीले भने, ‘त्यसका लागि स्थायी संयन्त्र बनाउने र प्रत्येक वर्ष मूल्य समायोजन हुने विधि कायम गर्नुपर्छ भनेका र्छौँ ।’

उनले यसपटक उद्योगीले पाउँदै आएका प्रतिसिलिन्डर मुनाफा ३२ रुपैयाँबाट वृद्धि गर्नैपर्ने अवस्था रहेको बताए ।

२२ फागुनमा ग्यास डिलरहरूको संगठन ग्यास विक्रेता महासंघले मन्त्री यादवलाई भेट गरेको थियो । त्यसक्रममा ग्यासको प्रतिसिलिन्डर मूल्यको ५ प्रतिशत हुन आउने रकम मुनाफाबापत उपलब्ध गराइने व्यवस्थाका लागि पहल गरेको छ ।

महासंघका महासचिव चन्द्र थापाले पछिल्लो पाँच वर्षको बजार मूल्य वृद्धिको तथ्यांक नै राखेर ग्यास बिक्री गर्दा पाउनुपर्ने मुनाफा पनि बढाउन आग्रह गरेको बताए ।

अहिले ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ३ सय ७५ रुपैयाँ छ । यसको पाँच प्रतिशतबराबर ६८ रुपैयाँ ७५ पैसा हुन आउँछ । अहिले विक्रेताले प्रतिसिलिन्डर २८ रुपैयाँ नाफा पाइरहेका छन् ।

२४ फागुनमा पेट्रोलपम्प सञ्चालक र पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालकहरूले पनि मन्त्री यादवलाई भेट गरेका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले शुभकामना दिन मात्रै भेट गरेको बताए ।

तर, उनीहरूले कमिसन वृद्धिका लागिसमेत पहल गरेको मन्त्री यादवको सचिवालय स्रोतले जानकारी दियो । सोही भेटमा ट्यांकर ढुवानी व्यवसायीसमेत सहभागी थिए । उनीहरूले डिजेलको मूल्य थपघट हुनासाथ भाडादर समायोजन गर्ने गरेका छन् ।

व्यवसायीको नाफामा जति पनि रकम जोडिएको छ, ती सबै उपभोक्ता मूल्यमा जोडिने गरेको छ । तसर्थ उद्योगी–व्यवसायीको नाफा बढाएर उपभोक्ता मूल्य बढ्नेतर्फ सजग हुन अधिकारकर्मीले मन्त्री यादवलाई निरन्तर खबरदारी गरिरहेका छन् ।

मन्त्री यादवले व्यवसायीसँगको भेटमा भने सकारात्मक कुरा गर्ने गरेका छैनन् । उनले सबै उद्योगीलाई जनताको पक्षमा हुने गरी काम गर्नुपर्छ भन्ने गरेका छन् ।

ग्यास उद्योगीलाई मन्त्री यादवले जनता भएर सोचिदिन आग्रह गरेर पठाएका थिए । ‘सबै पक्षसँग छलफलका माध्यमबाट समझदारी कायम गरेर अघि बढ्नुपर्छ ।

तर, तपाईंहरू (उद्योगी) व्यवसायी मात्र भएर नसोच्नुस् । राज्यको साधारण नागरिकसमेत भएर सोचिदिनुस्,’ मन्त्री यादवले ग्यास उद्योगीलाई भनेका थिए ।

पेट्रोलियम व्यवसायीसँगको भेटमा पनि मन्त्री यादवले पैसा धेरै कमाउन नहुने भनेर सम्झाएका थिए । उनले पैसा नकमाउनेलाई समाजले बहुला भन्ने भन्दै साधारण नाफाका लागि तयार हुन निर्देशन दिएका थिए । नयांपत्रिका