कारी महतो
खैरहनी, चितवन, ५ कार्तिक ।
पूर्व स्वास्थ्य तथा भूमिसुधार सहायक मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारको उनको निधन भएको हो । चौधरी वि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भुमिसुधार सहायक मन्त्री भएका थिए ।
थारु कल्याणकारिणी सभा चितवनको संस्थापक सदस्य रहेका चौधरी २०२३ देखि २०२७ सालसम्म सभाको जिल्ला सभापतिमा भई काम गरेका थिए । विगत दश वर्षदेखि हालसम्म उनी राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्षका रुपमा समेत कार्यरत थिए ।
मृतक चौधरीको देवघाटमा हिन्दु परम्परा अनुसार आजै दाहसंस्कार गरिएको छ । दाहसंस्कार अगाडि थारु कल्याणकारिणी सभा र राजपाका झन्डा ओढाइएको थियो ।
यसैबीच प्रदेश साँसद रीना गुरुङ र खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य राजेन्द्र चौधरी, पूर्व केन्द्रिय सदस्य लक्ष्मण चौधरी लगायतले देवघाटमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।