बर्दघाट, २८ चैत्र २०८२ ।
बर्दघाटमा आयोजित पहिलो ‘बर्दघाट एक्स्पो’को आय–व्यय विवरण सार्वजनिक गरिएको छ। उद्योग व्यापार संघ बर्दघाटले शनिबार पत्रकार सम्मेलनमार्फत एक्स्पोको आर्थिक पक्ष सार्वजनिक गर्दै कार्यक्रमलाई समग्रमा सफल रहेको निष्कर्ष निकालेको हो।
कोषाध्यक्ष दिपक थापाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार एक्स्पो सञ्चालनका लागि ७१ लाख ७६ हजार ६ सय ४८ रुपैयाँ खर्च भएको छ भने आम्दानीतर्फ ७ लाख २० हजार २ सय ७२ रुपैयाँ मात्र संकलन भएको उल्लेख छ। यसरी कुल आर्थिक कारोबार ७८ लाख ९६ हजार ९ सय २० रुपैयाँ पुगेको जनाएको छ।
आय अपेक्षाभन्दा कम भए पनि आयोजकका अनुसार एक्स्पोले स्थानीय बजार चलायमान बनाउन, पर्यटन प्रवर्द्धन गर्न र सांस्कृतिक गतिविधिलाई सक्रिय बनाउन महत्वपूर्ण योगदान दिएको छ। स्टल भाडा, टिकट बिक्री र प्रायोजनबाट आम्दानी भएको थियो भने संरचना निर्माण, सांस्कृतिक कार्यक्रम र व्यवस्थापनमा मुख्य खर्च भएको बताइएको छ।
कार्यक्रम अवधिभर संघले स्थानीय सरकारलाई ३ लाख ३३ हजार २ सय ८८ रुपैयाँ मनोरञ्जन कर बुझाएको जानकारी पनि दिइएको छ। साथै, कृषि क्षेत्रको प्रवर्द्धनका लागि उत्कृष्ट किसानलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमको समीक्षा गर्दै संघका अध्यक्ष राजु न्यौपानेले आर्थिक चुनौतीका बाबजुद एक्स्पोले सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो। आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलन संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव नारायण भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
पहिलो संस्करणमै मिश्रित नतिजा देखिए पनि आयोजकले यसलाई अनुभवका रूपमा लिँदै आगामी वर्षहरूमा थप सुधार गरेर संचालन गर्ने बताएका छन ।















