प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृहरूको सद्गतिको कामना गर्दै मनाइने बालाचतुर्दशी मेला आज पनि भव्य रूपमा हुँदैछ। विहानैदेखि पशुपति क्षेत्रमा पितृका नाममा दीप प्रज्वलन गर्न भक्तजनको भीड लाग्ने परम्परा आज पनि दोहोरिएको छ। त्रयोदशीको साँझ भक्तजनले विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन्।
मार्गशीर्ष कृष्ण चतुर्दशीको बिहान भने दिवङ्गत आत्माको शान्तिको कामना गर्दै शतबीज छर्ने विधि सम्पादन गरिन्छ। त्रयोदशीको रातभर अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान शतबीज छरेर पितृ तर्पण सम्पन्न गर्छन्।
यस अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा घुइँचो लाग्ने गर्छ। मार्गशीर्ष कृष्ण त्रयोदशीको रात लाखौँ भक्तजन पशुपति क्षेत्रमा भेला भइ दीपदान, भजन–कीर्तन र लोकनृत्यसहित रातभर जाग्राम बस्ने परम्परा छ। बत्ती बाल्न स्थान सुरक्षित गर्न भक्तजन बिहानैदेखि उपस्थित हुने भएकाले क्षेत्र अत्यधिक भीडभाडयुक्त बन्छ। जाडो मौसमलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले पाललगायत आवश्यक व्यवस्थाहरू मिलाएको छ।
दिवङ्गत परिवारजनको चिरशान्तिको कामना गर्दै भक्तजनले १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप, किराँतेश्वरलगायत स्थानमा शतबीज छर्ने चलन छ। हाल शतबीजको स्थानमा सप्तबीज—धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो—छर्ने प्रचलन बढेको छ। मृगस्थलीस्थित बहिरा गणेश नजिक पुगेर गणेश शिलालाई हल्का हल्लाउँदै दिवङ्गत आत्माले सन्देश प्राप्त गरोस् भन्ने कामनासहित ठूलो स्वरमा प्रार्थना गरिन्छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार हेमाद्रि धर्मग्रन्थमा शतबीज भन्नाले धानका सय दाना अर्पण गर्नुपर्छ भन्ने उल्लेख छ। उनका अनुसार, “आजको दिन शिवजी मृगरूप धारण गरी विचरण गर्नुभएको पवित्र स्थलमा एक दाना बीज छर्दा एक दाना सुन दान गरेबराबरको पुण्य प्राप्त हुन्छ र दिवङ्गत आत्मालाई समेत मुक्ति मिल्ने उल्लेख धर्मग्रन्थमा पाइन्छ।”
बालाचतुर्दशीसँग सम्बन्धित किम्वदन्तीअनुसार मृगस्थली क्षेत्रमा भगवान् शिव मृगरूपमा विचरण गर्नुहुन्थ्यो। पार्वतीले बीजहरू छरेपछि उम्रीएका बिरुवाहरूले बथानबीच शिवलाई चिन्ने अवसर दिएको कथन पाइन्छ।
यस पर्वसँग बालासुर सम्बन्धी कथा पनि जोडिएको छ। जनश्रुति अनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका व्यक्तिले मृतदेहको गिदीसँग मिसिएको चिउरा खाएपछि गिदी खाने बानी बस्यो। लामो कपाल र डर लाग्दो रूपका कारण मानिसहरूले उनलाई ‘बालासुर’ राक्षसका रूपमा चिन्न थाले। पछि स्थानीय बासिन्दाले वृषसिंहमार्फत बालासुरको वध गराएको भनाइ छ। आफ्नै मितको वधबाट दुःखी वृषसिंहलाई सपनामा शिवजीले दर्शन दिई मार्गकृष्ण चतुर्दशीमा शतबीज छर्न आज्ञा दिएका थिए। शतबीज छर्दै जाँदा बालासुर वैतरणी पार गरेको विश्वासका आधारमा यो दिन बालाचतुर्दशी पर्व मनाइने चलन बस्यो।
धर्मशास्त्रअनुसार माता–पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले दीपदान वा शतबीज छर्नु नहुने प्रथागत मान्यता छ। धर्मसिन्धु ग्रन्थमा बरखी वर्षभित्र शिवको नामसमेत लिन नहुने उल्लेख गरिएको धर्मशास्त्रविद् नेपाल बताउँछन्। यस अवसरमा पशुपतिमा पुगेकाले वासुकी र गुह्येश्वरीको पूजापाठ अनिवार्यरूपमा गर्नुपर्छ भन्ने शास्त्रीय निर्देशका पालना पनि गरिन्छ।















