हुसेन अन्सारी, १८ असोज, नवलपरासी ।
रामग्राम नगरपालिकामा छाडा पशुचौपायाको बिगबिगीले विभिन्न सवारीसाधनका यात्री र बजारका पसलेहरुलाई समस्यामा पारेको छ । दर्जन भन्दा बढि छाडा पशुका कारण पसलेहरुलाई व्यापार गर्न कठिनाई भैरहेको छ भने सवारीसाधन र पैदल यात्रीहरुलाई समस्या भएको गुनासो गरेका छन् ।
एक महिनादेखि नवलपरासीको सदरमुकाम परासी बजारमा दर्जनभन्दा बढि छाडा पशुहरु घुमीरहेका हुन्छन् जसलाई नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन । बजारमा घुमिरहेका यि छाडा पशुहरु बाटोमा उभिने र बसिदिनाले सवारी साधन र पैदलयात्रीलाई समेत आवत जावतमा कठिनाई भएको छ ।
एकातिर बजारमा बसपार्क र ठेला व्यवस्थापन नभएकाले बाटो जाम भएको छ भने अर्काे तर्फ छाडा पशुहरुको बाटोमै जमघटले सवारी साधनहरु दुर्घटनाको जोखिममा पर्ने सम्भावना बढेको सवारी चालकहरु बताउंछन् । त्यति मात्र होईन छाडा पशुहरु पसल अगाडी राखिएको बोर्ड र सरसमानहर चलाईदिने र खाने समानहरु खाईदिने समेत गरेकाले पसलेहरु हैरानीमा छन् ।
यि छाडा पशुहरुलाई जति लखेटे पनि एकछिन पछि त यिनका पल्टनै आउंछन् । यिनलाई व्यवस्थापन गर्न रामग्राम नगरपालिका संग कान्जीहाउसै छैन । बजारमा घुम्ने साना पशु बाख्राहरुलाई व्यवस्थापन गर्न एकछिन नगरपालिका परिसर भित्र काम चलाउ कान्जी हाउस जस्तै एक कोठालाई व्यवस्थापन गरिएको छ भने ठुला चौपायाका लागि भने त्यो पनि व्यवस्था गरिएको छैन, जसकारण एक महिनादेखि खुलेआम यि छाडा पशुचौपायाहरु बजारमा घुमिरहेका पाइन्छन् ।
बजारमा घुमिरहेका छाडा पशुहरुको व्यवस्थापनमा नगरपालिकाले ध्यान नपुर्याउँदा नगरपालिका बासीले चर्काे आलोचना गरेका छन् । कान्जी हाउस नगरपालिकाको योजनामा छ यसलाई छिटो निर्माण गरि छाडा पशुचौपाया व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।