नेपालगन्ज । पत्रकारको परिचय पत्र बोकेर हुल हुज्जत गर्न खोज्ने एक ब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार शुक्रबार दिउँसो नेपालगन्जको विपी चोक क्षेत्रमा हुल हुज्जत गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले उनको साथमा रहेको पत्रकार परिचय पत्र बरामद गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोहलनपुर्वाका ३२ वर्षीय रियाज खान रहेका छन् । पेशाले उनी सुनचाँदी ब्यवसायी हुन् । नेपालगन्ज-८ जोहलनपुर्वामा उनको सुनचाँदी पसल छ ।
प्रहरीका अनुसार खानले खबर नेपालगन्ज नामक अनलाईनको पत्रकार परिचय पत्र बोकेका थिए । परिचय पत्र बोकेर हुल-हुज्जत गर्नमा नेतृत्व गरेका थिए । ब्यवसाय मात्रै गर्ने उनले अनलाईनको नाममा परिचय पत्र बनाएर त्यसको दुरुपयोग गरेको बुझिएको छ । खान पत्रकारितामा संलग्न नै नरहेको नेपालगन्जका पत्रकारहरु बताउँछन् ।
दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार कर्फ्यु लगाएको थियो । कर्फ्युको समयमा पनि करिव १२/१३ जनाले पत्रकारको परिचय पत्र दुरुपयोग गरेर सवारी साधन चलाएको कुरा अनुगमनका क्रममा फेला पारिएको पत्रकार महासंघ बाँकेका कार्यालय प्रमुख मेराज सल्मानीले बताए ।
‘पत्रकार परिचय पत्र दुरुपयोग गरेर त्यो दिन क कस्ले सवारी साधन चलायो, म सँग एक-एक प्रमाण छ,’ उनले भने । जनजीवन सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पार्दै आएको छ । एसीपीन्युजनेपाल