नेकपा एसका केन्द्रीय सदस्य गुरुङले छोडे पार्टी, केही समय स्वतन्त्र रहने

16

काठमाण्डाैं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘आजबाट स्वतन्त्र बामपन्थी… आहा क्या टाउको हलुङ्गो’ भनेर स्टाटस लेखेका थिए ।

शिलापत्रलाई प्रतिक्रिया दिँदै उनले केन्द्रीय कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन नभएको बताए । बैठकपछि अर्कै निर्णय गरेकोमा असन्तुष्ट रहेकोले पार्टीमा बस्नुको औचित्य नभएकोले पार्टी परित्याग गरेको घोषणा गरेको बताए ।

उनले भने, ‘केन्द्रीय कमिटी बैठककले गरेको निर्णय कार्यान्वयन नहुने, केन्द्रीय कमिटी बैठकपछि सचिवालय भनिने नेताहरू बसेर अर्कै निर्णय गरे । यसैमा बस्नुको औचित्य रहेन । त्यसैले अलग्गिएको हुँ ।’

उनले केही समय स्वतन्त्र रहने प्रतिक्रिया दिएका छन् । तत्काल कतै प्रवेशको तयारी नरहेको उनले बताए ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।

उनी गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।