काठमाण्डौ ।
निर्वाचनको स्वच्छता र निष्पक्षतामा आँच पुग्न सक्ने भन्दै सम्बन्धित क्षेत्रमा मत हाल्ने बाहेकका अन्य मन्त्रीहरुलाई निर्वाचन आयोगले दुई नम्बर प्रदेशबाट फर्किन निर्देशन दिएको छ । आयोगले मन्त्रीहरुले त्यहाँ उपस्थित भइराख्नु जरुरी नुहने समेत बताएको छ ।
दुई नम्बर प्रदेशको निर्वाचनमा मौन अवधि सुरु भएपछि निर्वाचन अायाेगले सबै मन्त्रीहरुलाई सो क्षेत्रमा जान रोक लगाएको हाे । चुनाव प्रचारका क्रममा कतिपय मन्त्रीहरु दुइ नम्बर प्रदेशमा केन्द्रीत भएका थिए ।
शुक्रबार रातीबाट मौन अवधि सुरु भएकाले चुनावी क्षेत्रमा मन्त्रीहरु बसिरहँदा त्यसले चुनाव प्रभावित पार्न सक्ने समेत आयोगको निश्कर्ष छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आयोगले प्रदेश नम्बर २ का जिल्लाहरुमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरुलाई उपस्थित नभइदिन आग्रह गरेको छ ।
त्यस्तै आयोगले निर्वाचन क्षेत्रका सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र लेख्दै मन्त्रीहरुलाई भ्रमण नगराउन र सम्बन्धित मन्त्रीहरुलाई आयोगको निर्देशनबारे जानकारी गराउन पनि आग्रह गरेको छ ।
विज्ञप्तिमा सो क्षेत्रको मतदानका बेला मताधिकार प्रयोग गर्ने मन्त्रीहरुलाई समेत आचारसंहिताको उल्लंघन नहुने गरी आफ्नो भूमिका निर्वाह गर्न सचेत गराइएको छ ।