श्याम थापा
सुस्ता २० बैशाख
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका वार्ड न १६ अन्तर्गत सिमलटाडी र शितल बस्ती गाउँ यतिखेर पानीको अभावले गर्दा काकाकुल बन्दै गएको छ ।
करिब ३ सय घरधुरी रहेको शितल बस्ती र सिमलटाडी गाउँमा १ वटा मात्र खानेपानीको धारा रहेको छ । सिमलटाडी र शितल बस्ती गाउँमा गुरुङ्ग, मुस्लिम र मगर जातिहरुको बाहुल्यता रहेको छ । सिमलटाडी र शितलबस्ती गाउँमा एउटा खानेपानी धारा निजी रहेको र २ वटा सार्वजनिक धारा रहेको भएपनि त्यो धारा हातीकाे देखाउने दात मात्र रहेको स्थानीय रिना गुरुङ्गले बताउनु भयो।
सिमलटाडी र शितलबस्ती गाउँमा असारदेखि फाल्गुनसम्म मात्र धारामा पानी आउने र अरु बाकी महिना भने धारामा पानी नआएर स्थानीयहरु खानेपानी बिना काकाकुल भएका छ्न । सो गाउँमा रहेको एक निजी दुई सार्वजनिक धारामा पानी नआएको कारणले गर्दा स्थानीयबासीहरु हप्तामा एक दिन मात्र नुहाउने पर्ने बाध्यता रहेको स्थानीय जिरमाया गुरुङ्गले बताउनु भयो ।
गाउँमा रहेको धारामा पानी नआएको हुनाले करिब १ घन्टा समय बिताएर र खजुरा खोला तरेर सेखुवानी गाउँ गएर गाग्रोमा पानी बोकेर ल्याउनु पर्ने सिमलटाडी र शितल बस्तीका स्थानीयबासीहरुको बाध्यता रहेको र टाढा बाट पानी बोकेर ल्याउदा ५ जना महिलालाई पाठेघरको समस्या पनि देखा परेको स्थानीय नुरुन नेशाले बताउनु भयो ।
गाउँमा निर्वाचनको बेला भोट माग्न आउने नेताहरूले घर घरमा धारा गाड्ने स्थानीयबासीहरुसंग बाचा गरेपनि चुनाव जितेर गएपछि नेताहरूले गाउलेहरुलाई मुख पनि नदेखाएको सिमलटाडी र शितल बस्तीका स्थानीयबासीहरुले गुनासो पनि गरेका छन । साथै जिल्ला खानेपानीको कार्यालय परासीले शितल बस्ती गाउँमा तीन हजार लिटर बराबरको खानेपानी ट्याङ्की निर्माण गरेको छ भने सो खानेपानी ट्याङ्कीमा जडान गरिएको मोटरले पानी तान्न नसकेर यति खेर सो खानेपानीको ट्याङ्की स्थानीयबासीहरुलाई देखाउने मात्र भएको छ ।
गाउलेहरुले घर निर्माण गर्ने बेलामा पानी प्रयोग गर्नको लागि प्रति ट्याङ्कर ४ हजारमा खजुरा खोलाबाट खरिद गर्नु पर्ने बाध्यता रहेको स्थानीय जिवन सापकोटाले बताउनु भयो । सिमलटाडी र शितल बस्तीका पुरुषहरुलाई भन्दा महिलाहरुलाई खानेपानीको अभावले गर्दा खाना पकाउ, नुहाउन, पशुपालन र कपडा धुनका लागि अत्याधिक गाह्रो भएको गाउँका महिलाहरुले दुखेसो पोखेका छन ।
सिमलटाडी र शितल बस्ती गाउँका स्थानीयहरुले यो समस्या समाधान गरि गाउलेहरुलाई काकाकुल हुन बाट जोगाउनको लागि सम्बन्धित निकाय र सरोकारवाला ब्यक्तीहरुसंग आग्रह पनि गरेका छ्न ।