नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी

8

१९ पुस, काठमाडौं । काठमाडौं प्रहरी परिसरले पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले अनलाइनखबरलाई बताए ।

परिसरले सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरेको छ ।

आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च अदालत गरेका नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेको थियो ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आए लगतै काठमाडौं प्रहरी परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भयो । तर, सर्वोच्चमा मुद्दा हारेपछि एमाले प्रवेश गरेका सिलवाल भने ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।