काठमाडौँ, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो ।
राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो ।
पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर २८ गते काठमाडौँको कालिकास्थानमा उहाँको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएका राणाले विसं २०३६ मङ्सिर ६ गतेदेखि अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी विसं २०५२ चैतसम्म कानून व्यवसायीका रुपमा काम गर्नुभयो ।