नगरपालिकामा तलब सुविधा लिने निर्णयकाे विरोध

74

अनिल यादव, नवलपरासी, २२ भदौं ।

रामग्राम नगरपालिकाको प्रमुख देखि वडा अध्यक्ष सम्मका पदाधिकारीले तलब सुविधा लिने गरेकाे निर्णयकाे आलोचना हुन थालेकाे छ । नगरपालिकाले गरेको निर्णय जनताकाे हित विपरीत भएको भन्दै राजपा नेपाल नवलपरासीले विज्ञप्ती जारी विराेध गरेको छ ।

नगरपालिकाको प्रमुख, उप्रमुख र वडा अध्यक्षहरुलाइ तलब भत्ता सहित चाडपर्व खर्च दिने निर्णय गलत भएको तथा गरीब जनताकाे करबाट भुडि भर्ने निर्णय एकदम गलत भएको भनेकाे छ ।

लोकतान्त्रिक र गणतन्त्रात्मक पद्धतिको खिल्ली उडाउदै जनताबाट विभिन्न शिर्षकमा उठाउने करले नगरको विकास निर्माण भन्दा आफ्नो भुडि भर्नको लागि वार्षिक करिब १ करोड रुपैया बाडफाँड गर्ने नगरपालिकाको निर्णय प्रति चर्काे आलोचना हुन थालेपछि राजपा नेपालको ध्यानाकर्षण भएको उल्लेख गरेकाे छ ।

नगरपालिकाले तोकेको तलबभत्ता र सेवा सुविधा अनुसार मेयर नरेन्द्र कुमार गुप्ताले मात्र वार्षिक ८ लाख १५ हजार पाउने भएका छन् भने उपमेयर रम्भा कुँवर ७ लाख २६ हजार पाउने छन् यस्तै प्रत्येक वडाका अध्यक्षहरु पनि वार्षिक ३ लाख ४२ हजार पाउने छन् जुन १८ वटै वडा अध्यक्षको तलब सुविधा रकम बार्षिक ६१ लाख ५५ हजार पुग्ने अनुमान गरिएको छ ।

यता नगर कार्यपालिका सदस्यले पनि वार्षिक करिब १ लाख ३० हजार पाउने छन् जुन ८ जना सहित वार्षिक रकम करिब १० लाख ४० हजार र वडा सदस्यलाई वर्षमा एक पटक चाँडपर्व भन्ने शिर्षक दिईने रकम ७ लाख रुपिया पुग्ने देखिन्छ ।

यसरी नगरपालिकाकाले जनप्रतिनिधिको तलबभत्ता र सेवा सुविधामा खर्चिने रकम ९४ लाख रुपिया पुग्ने अनुमान गरिएको राजपा नवलपरासीका जिल्ला संयोजक पुरन चौधरीले बताए ।

यदि यो निर्णयलाई तत्काल सच्याउदै तलब भत्ता, सेवा सुविधा रकम लिने निर्णय फिर्ता नलिए राजपा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।