थाकसको २२ औं राष्ट्रिय महाधिवेशनमा डा. प्रमोद र डा. बिएमलाई सम्मान गरिने

38

कारी महतो थारु
भरतपुर, २९ भाद्र ।

थारु कल्याणकारिणी सभा (थाकस) को २२औं राष्ट्रिय महाधिवेशनमा चितवनको भरतपुरमा रहेको एलाईभ हस्पिटल एवं ट्रमा सेन्टरका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. प्रमोद लामिछाने र हस्पिटलका प्रबन्ध निर्देशक बिएम खरेललाई सम्मान गरिने भएको छ ।

थरुहट आन्दोलन २०६५ मा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका सन्जीत महतोलाई २०७४ साउन महिनादेखि हालसम्म बिनास्वार्थ स्वःस्फूर्त रुपमा निःशुल्क उपचार गरेर नेपालभरिका थारु समुदायमाथि गुन लगाएको हुँदा अस्पतालको सम्पूर्ण टिमलाई धन्यवाद सहित डाक्टरद्वयको अमूल्य योगदानको कदर गर्दै सम्मान गर्न लागेको थाकस केन्द्रिय सचिवालय समितिका सदस्य राजकुमार लेखीले जानकारी दिए ।

थाकसको २२ औं राष्ट्रिय महाधिवेशन आगामी असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा हुँदैछ । असोज ७ गते राष्ट्रिय सभागृहमा समुदघाटन तथा असोज ८ र ९ गते शिवदर्शन पार्टी प्यालेस गौशालामा बन्दसत्र हुने सचिवालय समितिले जनाएका छन् ।

समुदघाटन समारोहमा भारतीय थारु कल्याण महासंघका केन्द्रिय अध्यक्ष एवं थरुहट महाविद्यालय हर्नाटाँडका अध्यक्ष दिपनारायण प्रसाद महतो र भारतीय जनता पार्टीका नेता एवं जिल्ला पार्सद शैलेन्द्र गढवालले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

महाधिवेशनमा थाकसका दक्षिण कोरिया, युएई, कतार, मलेसियाको विदेश शाखा लगायत नेपालका २४ जिल्ला शाखाबाट प्रतिनिधि एवं पर्यवेक्षकहरुको सहभागिता रहनेछ ।