अपडेट: त्रिशूली नदीमा बस खस्दा २४ को मृत्यु, १५ घाइते

16
File pic

११ कात्तिक, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा चाैबिस जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा दुई महिला र दुई पुरुषको शव भेटिए पनि उनीहरुको सनाखत भएको छैन ।

दुर्घटनामा घाइते १५ जनामध्ये गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ । अन्य १३ जना घाइतेको स्थानीय गजुरी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । बस नदीमा डुबेको छ । सो बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ । बसमा कति यात्रु थिए भन्ने एकीन अझै हुन सकेको छैन ।

प्रशासकीय अधिकृत मिश्रका अनुसार घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।