वृजराज कुशवाहा, नवलपरासी ।
गत साताभर नवलपरासीको दक्षिणी सिमावर्ती गाउँहरूमा राती आकाशमा देखिएको रहस्यमयी उज्यालाले जनजीवन त्रसित रह्यो । कसैले यसलाई ड्राेन भने, कसैले चोरी गर्ने योजनाको संकेत ठाने, कतिपयले त भारतले निगरानीका लागि नेपालमा ड्राेन प्रयोग गरेको आरोपसम्म लगाए । सामाजिक सञ्जालमा तस्बिर र कथा फैलिँदै गएपछि हल्ला आतंकमा बदलियो । तर अन्ततः यथार्थ भने फरक देखियो — त्यो ड्राेन नभई जहाजको उज्यालो मात्र रहेछ ।
जहाजलाई होल्ड गर्न बाध्य विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रवक्ता श्याम किशोर शाहका अनुसार असोज ९ गते विहीवार साँझ प्राविधिक कारणवश चारवटा जहाजलाई अवतरण गराउन समस्या देखिएपछि करिब दुई–तीन घण्टासम्म आकाशमै होल्ड गर्नुपरेको थियो ।
यही क्रममा जहाजहरू विमानस्थल वरिपरि चक्कर लगाइरहँदा नवलपरासीको दक्षिणी आकाशमा उज्यालो बलिरहेको देखियो । स्थानीयका दृष्टिमा अज्ञात र अस्वाभाविक देखिएको उक्त दृश्यलाई ड्राेन ठानियो र हल्ला सुरु भयो ।
सामाजिक सञ्जालले थप्यो त्रास
फेसबुकजस्ता माध्यममा “सिमामा ड्राेन घुमिरहेको छ” भन्ने पोस्ट र कमेन्टको बाढी आयो । केहीले निगरानी भइरहेको व्याख्या गरे, केहीले सुरक्षा खतराको आशंका व्यक्त गरे । सामान्यतया नागरिकले फेसबुकलाई समाचारकै आधार मान्ने भएकाले “ड्राेन देखिएको” भ्रम अझै गहिरिँदै गयो ।
सुरक्षा निकायको ढिलासुस्ती
यही बीचमा नेपाल–भारत दुबै देशका सुरक्षा निकायहरू मौन रहे । नेपाल प्रहरीले “ड्राेन हो वा होइन भन्ने प्रमाण छैन” भन्दै टालटुल पार्यो । भारतीयतर्फका सुरक्षाकर्मीले नेपालमै कसैले विद्युतिय खेलौना उडाएको हुन सक्ने अनुमान गरे । तर स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक भएन ।
असोज १२ गते जिल्ला प्रशासन कार्यालय, नवलपरासी पश्चिमले “जथाभावि ड्राेन उडाउन नपाइने” भनेर सूचना जारी गर्दा उल्टै भ्रम बढ्यो । यसले जनतालाई आश्वस्त पार्नेभन्दा बढी त्रसित बनायो ।
पत्रकारहरूको अनुसन्धानपछि मात्र खुल्यो सत्य
अनलाइन जनताको टोलीले दोस्रो दिन असाेज १० गते सुक्रवारको दृश्यलाई सूक्ष्म निगरानी गर्यो । आकाशमा देखिएको उज्यालो कहिले देखिने, कहिले हराउने, कतिपय अवस्थामा ओभरलय हुने दृश्य देखिएपछि विमानस्थल प्रशासनसँग सम्पर्क गरियो ।
विमानस्थल प्रमुख प्रताप बाबु र प्रवक्ता शाहसँगको कुराकानीपछि यथार्थ खुल्यो — आकाशमा देखिएका उज्यालो जहाजका हुन्, ड्राेन होइनन् ।
सिकाइ के हो?
यो घटनाले तीन वटा महत्त्वपूर्ण पक्ष उजागर गर्यो–
- सामाजिक सञ्जालको प्रभाव : सूचनाको पारदर्शिता नहुँदा फेसबुक र हल्लाले जनमतलाई नियंत्रित गर्यो ।
- सुरक्षा निकायको कमजोरी : समयमै सत्य सार्वजनिक नगरेर सुरक्षामाथि नै प्रश्न खडा भयो ।
- जनतामा त्रास : एक हप्तासम्म सामान्य नागरिक असुरक्षित महसुस गर्दै राती निदाउन सकेनन् ।
निष्कर्ष
सुरक्षा संवेदनशील क्षेत्रमा अनिश्चित उज्यालो वा आवाज देखिनेबित्तिकै स्पष्ट जानकारी नआए भ्रम र त्रास बढ्छ भन्ने तथ्य यो घटनाले प्रमाणित गर्यो । आगामी दिनमा यस्ता घटनामा नेपाल–भारत दुवै देशका सुरक्षा निकायले छिट्टै तथ्य सार्वजनिक गर्नुपर्ने, नागरिकलाई आश्वस्त पार्नुपर्ने माग स्थानीयले गरेका छन् ।















