नवलपरासीमा जनता आवास कार्यक्रममा विचौलियाको चलखेल

26
गुणस्तरहिन इट्टाकाे मिसावट

मोहम्मद ईजहार शेष, भाद्र २० गते ।

जनता आवास कार्यक्रम अन्तर्गत अावासिय घर निर्माणका लागि अनुदान सहयाेग पाएका लक्षित वर्गका सम्बन्धित व्यक्तिहरू स्थानीय स्तरमै चरम शाेषणमा परेको गुनासो गरेका छन् । निर्माणकाे रकम हातमा परेपनि अाफुहरुले स्वतन्त्र रूपमा काम गर्न गराउन नपाएको सरावल ४ का हरि केवटकाे गुनासो  छ ।

नवलपरासी जिल्लामा विपन्न तथा गरीब समुदायका पाँच सय घरधुरीलाई नेपाल सरकारले जनताको आवास कार्यक्रम अन्तर्गत घर बनाईरहेको छ तर स्थानीय केही व्यक्तिहरूकाे हस्तक्षेपका कारण स्तरिय निर्माण गर्नमा अवराेध उत्पन्न भएपछि गुनासाे बाहिर अाउन थालेकाे हाे । 

यस्तै जिल्लाको सरावल गाउँपालिका–६ रामपुर खडौनामा जनताको आवास कार्यक्रमका लागि खसालिएको ईट्टामा केही गुणस्तरहीन ईट्टा मिसाईएको छ । सरकारले पैसा आफ्ना खातामा पठाई दिएपनि आफ्नो तरिकाले प्रयोग गर्न नपाएकाले गुणस्तरहीन काम गराउने प्रयास भईरहेको सरावल ६ पुषाैलीका हरि हरिजनकाे गुनासो छ ।

यता पाल्हीनन्दन गाउँपालिका स्थित सनईमा केही ब्यक्तिहरुले लक्षित बर्गको काेटामा नाम आफुले पारिदिएको भन्दै पैसा उठाएको विवादले पहिलो किस्ताको रकम गत शुक्रबारसम्म पनि पठाउन नसकिएको जनता आवास कार्यक्रम कार्यान्वयन ईकाई कार्यालय नवलपरासीका सहायक ईन्जिनियर बिरेन्द्र मण्डलले जानकारी दिनुभयो ।

उनिहरुलाई सहजीकरणका लागि आवास कार्याक्रम अन्तर्गत परेका गाँउहरुमा एकजनालाई अध्यक्ष बनाईएको थियो ।  ति गाउँहरुमा खासगरि अहिलेपनि त्यस्ता ब्यक्तिहरुले आफ्नो मार्फत काम गराउने प्रवृतिले गुनासो बढ्दै गएका छन् । उनिहरुले भनेको ठाँउबाट निर्माण सामाग्रीहरु किन्नु परेको स्थानीयहरुले बताएका छन् । तर आवास कार्यालयले भने सम्बन्धित घरधुरीलाई नै पैसा दिएको र कसैको भनाई अनुसार काम नगर्न र आफ्नो तरिकाले गुणस्तरीय सामान किन्न सम्बन्धितलाई जानकारी गराइएको कार्यक्रमका ईन्जिनियर चक्रबहादुर थापाले बताउनु भयो ।

उनिहरुलाई सहजीकरण गर्नका लागि बनाईएको अध्यक्ष र स्थानीय केही ब्यक्तिहरुले सरकारले दिएको रकम उनिहरु मार्फत आएको भन्ने जस लिन खोजी रहेको पीडितहरुले बताएका छन् । आवास कार्यक्रम अन्तर्गत जिल्लामा परेका पाँच सय घरधुरीको घर निर्माण गर्न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय चितवनले जिम्मा पाएको छ । यस कार्यक्रम अन्तर्गत प्रत्येक घरधुरीले चार किस्तामा गरि २ लाख १४ हजार ७ सय रकम पाउने छन् ।