बृजराज कुशवाहा, काठमाडौं ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघको आयोजनामा राजधानीमा सडकसभा सम्पन्न भएको छ। कार्यक्रम ठीक ८ बजे सुरु भएको थियो।
सभामा गैर सरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले सूचना पाउनु नागरिकको मौलिक हक भएको बताउँदै यसलाई कुन्ठित गर्न नहुने स्पष्ट पार्नुभयो। नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु भट्टले पत्रकार महासंघ सधैं सूचनाको हकको पक्षमा रहेको उल्लेख गर्दै नागरिकले यसको भरपूर उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
मानवअधिकारवादी चरण प्रसाईंले हालै सरकारद्वारा गठन गरिएको सत्य निरुपण तथा वेपत्ता छानबिन आयोगसम्बन्धी जानकारी माग्दा सूचना नपाएको अनुभव सुनाउँदै सूचनाको हक नागरिक समाजले निरन्तर संरक्षण गर्नुपर्ने बताउनुभयो। त्यस्तै, सूचनाका अभियन्ता तारानाथ दाहालले ऐन लागू भएको १८ वर्ष बितिसक्दा पनि नागरिक समाज सडकमा आउनु विडम्बना भएको टिप्पणी गर्दै सम्बन्धित निकायलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजय प्रसाद मिश्रले सर्वोच्च अदालतको आदेशपछि सूचनासम्बन्धी ऐन जारी भएको स्मरण गर्दै यसको संरक्षणमा सबै सक्रिय हुनुपर्ने बताउनुभयो। नागरिक समाजका अगुवा कृष्ण पहाडीले सरकारले सदैव सूचना लुकाउने प्रवृत्ति देखाउँदै आएको आरोप लगाउँदै मन्त्रीहरुको सम्पत्ति विवरण समेत सार्वजनिक नभएको दुःख व्यक्त गर्नुभयो।
वरिष्ठ कानुन व्यवसायी दिनेश त्रिपाठीले सूचनाको हकलाई लोकतन्त्रको ‘मुटु र आत्मा’ भन्दै सरकार यसप्रति प्रतिबद्ध नभएकाले नागरिकले अपेक्षित लाभ लिन नसकेको टिप्पणी गर्नुभयो।
सडकसभामा ट्रान्स्परेन्सी इन्टरनेशनल, सामुदायिक सारथी लगायत करिब तीन दर्जन संघसंस्थाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष तारा बहादुर भण्डारीले गर्नुभएको थियो भने उद्देश्यबारे महासंघका अध्यक्ष उमिद बागचन्दले प्रकाश पार्नुभएको थियो।















