उखुकाे मूल्य नै नताेकिकन क्रसिंग शुरू

14
बिज्ञापन

मंसिर ९ – मंसिरको दाेश्राे साताबाट उखु क्रसिङ सुरु भएपनि मूल्य निर्धारण नभएपछि नवलपरासीका उखु किसान चिन्तित भएका छन् ।

खेतमा रहेको उखु बेचेर हिउँदे बाली लगाउन तयार परेका किसानहरु समयमा नै उखुको मूल्य निर्धारण नभएपछि थप चिन्तित भएका हुन् । यस वर्षको क्रसिङग सिजनका लागि उखुको मूल्य अाइसक्नुपर्ने हाे । उखु किसान भन्छनः मूल्य नै नअाइकन उखु काट्न बाध्य भइयाे ।

Advertisement

उखु उत्पादनमा किसानको लागत बर्षेनी बढिरहेकाले पोहोरभन्दा कम मूल्य स्वीकार्य नहुने किसानहरूको भनाइ छ । उद्योगीले भने यसवर्ष अन्तर्राष्ट्रिय बजारमा नै चिनीको मूल्य दैनिक रुपमा घटेकाले पोहोरको मूल्य प्रति क्विन्टल ५३१ रुपैयाँमा उखु खरिद गर्न नसकिने अडान राखेको छ।

किसानको माग अनुसारको मूल्य ५६२ रुपैयाँ पाउन सरकारले चिनीको भन्सार महसुल १५ प्रतिशतबाट बढाएर ४० प्रतिशत कायम गर्नु पर्ने उद्योगीहरुको माग छ । उखुको मूल्य समयमा नै निर्धारण गरेर उद्योग संचालन गर्नु पर्नेमा सरकार र उखु उत्पादक किसान चुनावमा व्यस्त भएकाले मूल्य निर्धारण चुनावपछि मात्र हुने भएको छ।

उखुको मूल्य निर्धारणका लागि त्रिपक्षीय वार्तामा बस्नु पर्ने भएपनि चुनाव नजिकीँदै गएकोले किसान अगुवाहरु भोट माग्न व्यस्त भएका छन् । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली नेपाली कांग्रेसको तर्फबाट सर्लाहीमा क्षेत्र—३ को (क) प्रदेशसभाको लागि उम्मेदवार हुनुहुन्छ भने सोही क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार डिल्ली उप्रेती पनि चुनावी मैदानमा हुनुहुन्छ।

यसरी नै अगुवा किसानहरु कमल बुढाथोकी, राजकुमार उप्रेती, बेदबहादुर बुढाथोकी लगायतका नेता उखुको मूल्य निर्धारणमा भन्दा पनि चुनावको लागि भोट माग्न व्यस्त देखिनु भएको छ । चुनावमा सबै किसान व्यस्त हुने भएकाले पुर्वका उद्योगहरू पुसको पहिलो साताबाट मात्र संचालनमा आउने इन्दुशंकर चिनी कारखाना हरिवनका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिनुभयो । नवलपरासीकाे इन्दिरा सुगर्स एण्ड एग्राे इण्डष्ट्रिज गंगापुर मंसिर दाेश्राे साताबाट संचालनमा अाएकाे छ । अन्य उद्याेगहरू पनि चांडै संचालनमा अाउने तयारीमा छन् ।

यस वर्ष पनि खासै उखु उत्पादन नबढेकाले करिव ३ महिना भित्रैमा क्रसिङग सकिने उद्योगको अनुमान छ । नवलपरासीमा गत वर्ष १० हजार हेक्टर जग्गामा करीब ३५ लाख क्विन्टल उखु उत्पादन भएको थियाे ।

Advertisement