नवलपरासी, वैशाख ८ गते। पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का सांसद विक्रम खनालले आगलागीबाट प्रभावित परिवारलाई भेट गर्दै राहत तथा सहयोगका लागि सबै पक्षसँग आग्रह गरेका छन्।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ मा भएको भीषण आगलागीमा १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय गोविन्द चमारको कच्ची घरबाट सुरु भएको आगो छिमेकीका अन्य ११ घरमा फैलिएको थियो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो।
आगलागीबाट रामसिंह कुर्मी, रामबहादुर कुर्मी, उमेश कुर्मी, नगिना हरिजन, भुटेल हरिजन, सन्तोष हरिजन, काशीलाल चमार, शिवशरण कुर्मी, सदिक मियाँ, किमन कुर्मी र अनुश कुर्मीका घर पूर्ण रूपमा जलेका छन्।
घटनामा घर, लत्ताकपडा, अन्न तथा दैनिक उपभोग्य सामग्रीमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक अनुमान अनुसार करिब ४४ लाख ४८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। साथै आगलागीमा तीन वटा बाख्रा जलेर मरेका छन्।
घटनास्थलको अवलोकनपछि सांसद खनालले पीडित परिवारलाई शीघ्र राहत उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विपद्को यस कठिन घडीमा सबै संघ–संस्था, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सहयोगका लागि अघि आउन आग्रह गरेका छन्।
घटनाकाे खबर पाए लगत्तै प्रतापपुर गाउँपालिकाले रू.२१५००को दरले १२ घरपरिवारलाई अति आवश्यक सामान तथा नगद रकम उपलब्ध गराएकाे छ।
















