जेपी आनन्द
मधेस प्रदेश सरकारका बारेमा लगभग नित्यदिन अनेकौ बेथितीको समाचारहरू आई रहेको छ। भर्खरै प्रकाशित एक खोज समाचारको सार यस प्रकारको छः
“देश संघीय संरचनामा गएपछि प्रदेश सरकार सन्चालनमै राज्यलाई अर्बौँ रुपैयाँ व्ययभार थपिएको छ । मधेश सरकार सन्चालनमा मात्रै मुख्यमन्त्रीसहित ११ मन्त्री, प्रदेश सभा पदाधिकारी र कर्मचारी सहितको तलब भत्ता, इन्धन, भ्रमण र बैठक भत्तासहित सेवा सुविधामा एक अर्बभन्दा बढी रकम खर्च भइरहेको छ । चालू आर्थिक वर्षमा मात्रै प्रदेश सरकारले १ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।”
बारा २ को उप निर्वाचनका दौरान हालै उम्मेदवार उपेन्द्र यादवले भारतीय भाजपाको प्रचार नक्कल गर्दै- सिंहदरबारको सरकारमा आफ्नो पार्टी सहभागी हुदाँ र प्रदेशमा जसपाको मुख्यमंत्री रहदां “डब्बल इन्जिनको सरकार” हुने भनेछन्। यस्तो डब्बल इन्जिनले बिकासको आँधी ल्याउने कुरा उनले बताएको पढे। यसरी नै आफ्नो जीतको औचित्य बताउदै उनले “संघीयता धरापमा” रहेको पनि भनेछन्।
बिकासका मापक अनेकौं सूचकांकहरूमा मधेस प्रदेश निकै पिछडिएको कुरा अकाट्य तथ्यांकहरूले जनाएको छ। उपेन्द्रको एकलव्य सरकार निरन्तर तथा स्थिर रूपमा प्रदेश सरकारमा कायम छ। मधेस प्रदेशमा आर्थिक अवनीति र वित्तीय बेथिति समानान्तर रूपमा बढी रहेको छ। तर, उपेन्द्र यस्ता बिषयमा कहिल्यै बोल्दैनन्।
उपेन्द्र एक्लो- मधेसका मसीहा, मधेस आन्दोलनका प्रणेता, बैज्ञानिक नेता, मधेश निर्माता, मधेश मुक्तिदाता, गरीबों के रहनुमा, कृष्णावतार, मधेश के गांधी, मधेस के मंडेला, मधेसका अम्बेडकर, मधेश के नायक, प्रिय नेता, मधेसको शान, अभिमानी नेता, मधेस के रहनुमा, मधेसका सर्वोच्च नेता, समावेशिताका जनक तथा संघीयताका पिता जस्ता उपमाहरूबाट स्वयंभू बिभुषित छन्। तर, मधेस उनको शासनमा रसातलमा जादैछ। उनि यसबारे मन्द मन्द मुस्कानका साथ चिन्तन गर्छन तर कहिले बोल्दैनन्। केही पनि गर्दैनन्।
के प्रदेशमा यस्तो वित्तीय बेथिति सुधारमा यिनको कुनै दायित्व छैन? खै, बारामा कोई सोध्दछन् कि सोध्दैनन् थाहा भएन। जय प्रकाश आनन्द





