बर्दघाट, २७ मंसिर २०८२ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित बाढीपीडित क्षेत्रमा रहेको उत्पत्तेश्वर महादेव मन्दिर परिसरमा श्रीमद् देवी भागवत महायज्ञ – २०८२ भक्तिमय वातावरणमा जारी रहेको छ।
मन्दिर व्यवस्थापन समिति बर्दघाट–४ शिव स्मृति नगरको मुख्य आयोजनामा तथा लोक कल्याण सेवा प्रतिष्ठान र रामजानकी वालिका आश्रम, भरतपुर–१ देवघाटको सह–आयोजनामा महायज्ञ सञ्चालन गरिएको हो।
उत्पतेश्वर महादेव मन्दिरको भौतिक पूर्वाधार विकास तथा आश्रममा आश्रित अनाथ तथा असहाय वालिकाहरूको सहयोगका लागि यज्ञकाे आयोजना गरिएको आयोजक समितिका सदस्य राम प्रसाद पाण्डेले जानकारी दिनुभयो।
यज्ञ मूल समारोह समितिका संयोजक काशीनाथ नेपालले “जस्ले जे सक्नुहुन्छ, त्यहीँ चिज–वस्तु दान गर्ने” भावनाका साथ उल्लेखनीय संख्यामा श्रद्धालु भक्तजनहरूकाे उपस्थिति रहेको छ । उहाँले भक्तजनहरूले आफ्नो गच्छे अनुसार स्वेच्छाले सहयोग गरिरहेको बताउनुभयो ।
आयोजकका अनुसार महायज्ञ अवधिभर बिहान पूजा–आराधना, शिवपुराण पाठ, हवन–अभिषेक, कथा–प्रवचन, कथामा आधारित नाटक तथा झाँकी समावेश छन् भने साँझ महाआरती र भक्तिमय भजन–कीर्तन कार्यक्रम सञ्चालन हुँदै आएकाे छ । महायज्ञमा आज छैटौँ दिन पनि श्रीमद् देवी दिव्य शक्ति कथा, कथा वाचिका उमामहेश्वरी शास्त्रीको मुखारविन्दुबाट वाचन गरिएको छ।
गत मंसिर २१ गतेदेखि सुरु भएको महायज्ञ मंसिर २९ गतेसम्म सञ्चालन हुने रामजानकी वालिका आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो। उहाँले आश्रमका अनाथ तथा असहाय वालिकाहरूलाई निस्वार्थ रूपले संरक्षण गरेकाे बताउदै, आध्यात्मिकसँगै आधुनिक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो।
यज्ञमा व्रतबन्धन, ८४ पूजा, मण्डप पूजा, ब्रह्मपूजा, हवन, शान्तिपाठ तथा पितृ संकल्प कार्यक्रम सञ्चालन भएको स्थानीय उत्पत्तेश्वर भजन समूहकी सदस्य रिता शर्माले जानकारी दिनुभयो।
भाेलि मंसिर २८ गते लक्ष्यदीप प्रज्वलन, विशेष कथा वाचन तथा रात्री जागरण गरिनेछ भने अन्तिम दिन मंसिर २९ गते हवन–पूजा, तिलार्पण, पूर्णाहुति, विसर्जन र पूर्णाभिषेक सहित महायज्ञको समापन गरिने मूल समितिका महासचिव शिव चालिसेले जानकारी दिनुभयो ।















