शिक्षक परीक्षाको प्रक्रिया एक महिना स्थगित गर्न आयोग सहमत, विद्यार्थीको रिले अनसन तोडियो

6

काठमाडौं ।

शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण प्रक्रिया मंसिर मसान्तसम्म स्थगित गर्ने भएको छ । आन्दोलनरत विद्यार्थी संघर्ष समितिसँग आइतबार दिउँसो भएको सहमति अनुसार आवेदन दिएका अस्थायी शिक्षकहरुको फारम संकलनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण काम मंसिर मसान्तसम्म स्थगित गर्ने सहमति भएको वार्तामा सहभागी आयोगका प्रकाशकीय अधिकृत, सह–सचिव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए ।

वार्तामा सहभागी विद्यार्थीका तर्फबाट विद्यार्थी संघर्ष समितिका संयोजक पुस्कर शर्माका अनुसार परीक्षा फारम संकलन, स्वीकृती गर्ने, अन्तिम नामावली प्रकाशन र परीक्षाको मिति तोक्ने सबै काम मंसिर मसान्तसम्म स्थगित गर्ने निर्णय भएको छ ।

उनले भने, “आयोगसँग परीक्षाको सम्पूर्ण प्रक्रिया स्थगित गर्ने सहमति भयो, सहमतिसँगै जारी रिले अनसन पनि स्थगित गरेका छौं ।”

आयोगले सहमति पालना नगरी बीचमा प्रक्रिया अगाडि बढाएमा आफुहरु पुनः आन्दोलन गर्ने बताए ।

सहमति अनुसार अहिले विभिन्न् १७ वटा केन्द्रबाट परीक्षा फारम संकलन भइरहेको छ । ती १७ वटै केन्द्रमा संकलन भएका सबै फारम यथास्थानमा राखिने छ । र मंसिर मसान्तसम्म कुनै पनि प्रक्रिया अगाडि बढाइने छैन् ।

विगत ८ दिनदेखि शिक्षक सेवा आयोगको मूलगेटमा रिले अनसन गरिरहेका विद्यार्थी संघर्ष समिति र आयोगबीच आइतबार बिहानदेखि वार्ता सुरु भएको थियो । आन्दोलनरत विद्यार्थीहरुले आयोगले गत कात्तिकमा खुलाएको अस्थायी शिक्षक विज्ञान खारेज गर्नुपर्ने माग राख्दै आएका छन् ।

संयोजक शर्माका अनुसार मंसिरपछि आउने राजनीतिक परिवर्तन हुने अपेक्षा सहित आफ्ना माग पूरा गर्न सहज हुने अनुमान गरेका छन् । उनले भने “हाम्रा माग पूरा गर्नका लागि नयाँ संशोधन आवश्यक छ, त्यसैले निर्वाचनसम्म प्रक्रिया स्थगित गर्ने सहमति गरेका हौं ।”

वार्तामा आयोगले मंसिर ३ गतेसम्म परीक्षाका लागि परेका आवेदनबारे अन्तिम नामावली प्रकाशन गर्ने कार्यलाई मंसिर मसान्तसम्म स्थगित गर्ने सहमति भएको हो ।
शिक्षा ऐनको नवौं संशोधनले अस्थायी शिक्षकका लागि ५१ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याइएको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका थिए । विद्यार्थीहरुले ७ लाख लाइसेन्स लिएर बसेका विद्यार्थीहरुले जागिर खान पाउने अधिकार खोसिएको भन्दै विरोध गर्दै आएका छन् ।

नवौं संशोधनले अस्थायीलाई मात्रै फाइदा पुग्दा खुला प्रतिष्पर्धाबाट आउन चाहने विद्यार्थीका लागि भने ढोका बन्द गरिदिएको उनीहरुको आरोप छ ।