प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल हुदै, विजेताले १ लाख २५ हजार पाउने

10

 

उमेश बि.क / सरावल,१० पुस

नवलपरासीको सरावल गाउँपालिकामा ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता–२०७५’’ हुने भएको छ । सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको मुख्य आयोजना एंव सरावल गाउँपालिकाको सहयोगमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगीता यही पुस १८ गते देखि सरावल गाउँपालिका वडा नं. ३ मा अवस्थित हिमालय युवा क्लब सरावलकाे खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपाल भित्रका १६ टिम बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न रु ६ लाख ५० हजार भन्दा बढी खर्च हुने अनुमान गरिएकाे छ ।

प्रतियोगिता फुटबल खेलको माध्यमबाट कुलतमा फसेका यूवाहरुलाई स्वस्थ जिवन बिताउन प्रेरणा दिनुका साथै गाउँपालिकाका युवाहरुबीच आपसी मेलमिलाप र एकबद्धता गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको समितिकाे सहसचिव रियाज अलि अन्सारीले बताए ।

प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले शिल्ड, मेडल, प्रमाण–पत्रको साथमा क्रमश नगद रु.१ लाख २५ हजार र ७५ हजार पुरस्कार पाउनेछ । त्यसैगरी अन्य विधाहरु अनुशासित टिम लगायत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापंक्ती, उत्कृष्ट प्रशिक्षकलाइ पनि पुरस्कारको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।

सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायले प्रतियोगिता सञ्चालन गर्न पाउनु सुखद् अवसर भएको बताउँदै खेल क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताइन।

उप–समिति पनि गठन
यही पुस १८ देखि सञ्चालन हुन लागेको ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता–२०७५’’ लाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीको प्रमुख अातिथ्यतामा ५ वटा उप–समिति गठन गरिएको छ ।

उप–समितिको संयोजकहरुमा उद्घाटन तथा समापनतर्फ साेनिया चाैधरी, आर्थिकतर्फ पवन कुमार चाैधरी, खेल मैदान व्यवस्थापनतर्फ नरेन्द्र प्रसाद चाैधरी, मन्च ब्यवस्थापन तर्फ लाेकेन्द्र बहादुर क्षेत्री र प्रचारप्रसारतर्फ रियाज अलि अन्सारी रहेका छन् ।