२८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिबाट शान्तिपूर्ण समाधान निस्किएको भन्दै आगामी घोषित निर्वाचन सफल बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणालीलाई सुरक्षित राख्दै जनतालाई विश्वास दिलाउने अवसर आएको उल्लेख गर्दै भनेका छन्, “प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न गराउन सबै पक्षले सहयोग पुर्याउन आवश्यक छ।”
उनले आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी अझ सबल र उन्नत लोकतन्त्रतर्फ अघि बढ्ने जनआकांक्षा रहेको स्मरण गराए।
यसअघि शुक्रबार राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरी ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी दिएका थिए। त्यतिबेलै कार्कीले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेकी थिइन्।
प्रधानमन्त्रीमा नियुक्त भएपछि कार्कीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिश राष्ट्रपतिले अनुमोदन गर्दै आगामी फागुन २१ गते निर्वाचन मिति तोकेका थिए।
यद्यपि प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरूले आपत्ति जनाउँदै राष्ट्रपतिलाई उक्त निर्णय फिर्ता लिन आग्रह गरिरहेका छन्।
तर शनिबार राष्ट्रपति पौडेलले परिस्थितिअनुरूप यही नै उचित निकास भएको भन्दै सबै दल र पक्षलाई निर्वाचन सम्पन्न गराउन सहयोग गर्न पुनः अपील गरेका छन्।















