नेकपा विप्लव समुहको जनप्रदर्शन सम्पन्न

16

फागुन २८–बुटवल ।
नेकपा कम्युनिष्ट पार्टी कपिलवस्तुले जीतपुरमा वृहद प्रदर्शन गरेको छ । प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेकपा पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज वीरजंगले आफ्नो नेता तथा कार्यकर्ता विरुद्ध राज्यले दमन गरेको भन्दै त्यस विरुद्ध शसक्त प्रतिरोध गर्ने बताएका छन् । नेता वीरजंगले विचारलाई दमन गर्ने कुचेष्टा गर्ने राज्यको नीति दिवास्वप्न मात्र भएको बताए । उनले भ्रष्टाचारीहरुको अकुट सम्पत्ति सार्वजनिक गरी राष्ट्रियकरण गर्नुपर्ने बताए । सभामा केन्द्रीय सदस्य भेषराज भुसालले राज्यका सवै किसिमका दमन विरुद्ध पार्टीले सामना गर्न तयार रहेको बताए । कार्यक्रममा नेकपा अर्घाखाँचीका इन्चार्ज कमल केसी, उद्योग बाणिज्य संघ कपिलवस्तुका उपाध्यक्ष छवि रेश्मी मगर, मानवअधिकारकर्मी राम दयाल ठाकुर लगायतले बोलेका थिए । उक्त अवसरमा माओवादी केन्द्रका दुई जना जिल्ला सदस्य सहित २७ जना नेकपामा प्रवेश गरेका थिए । सेक्रेटरी सुनिलको सञ्चालन, संगमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेकपा रुपन्देहीले पनि बुटवलमा वृहद प्रदर्शन गरेको छ । राजमार्ग चौराहदेखि सुरु भएको विशाल प्रदर्शनपछि ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष संजीवकुमारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा आफुहरु जीवनपर्यन्त लडिरहने बताए । नेता संजीवकुमारले देश भ्रष्टाचारीहरुको अखडा भएको भन्दै त्यसका विरुद्ध पार्टीले एकीकृत जनक्रान्तिको माध्यमद्धारा आन्दोलन गरिरहेको बताए । उनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता विरुद्ध राज्यले दमन गर्न खोजिरहेको भन्दै त्यसका विरुद्ध शसक्त प्रतिरोध गर्ने बताए ।
कार्यक्रममा नेकपा रुपन्देहीका इन्चार्ज शरद ओलीले संसदीय व्यवस्था जनतालाई भोट वैंक बनाउने र जनताको पसिना चुस्ने व्यवस्था भएकोले यसबाट जनताको मुक्ति सम्भव नभएको बताए । सेक्रेटरी अमरले दलाल संसदीय राज्यसत्ताका विरुद्ध पार्टीले निरन्तर क्रान्तिका अगाडी बताएको बताए । क्रान्तिकारी जनपरिषद रुपन्देहीका प्रमुख शिशिरले कथित चुनावपछि देश भ्रष्टाचारको रस्सातालमा पुगेको भन्दै कथित जनप्रतिनिधिहरुले तत्काल राजीनामा दिनुपर्ने बताए । अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक कल्पना सुवेदीले एक्काइसौं शताब्दीको युगमा पनि महिलाहरुमाथि निर्मम दमन र हिंसा हुनु दलाल राज्यसत्ताको उपज भएको भएको बताए । कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी अमर, नाथु थारुको संचालन, जीतवहादुर रसाइलीको स्वागतमा सम्पन्न भएको थियो ।
त्यसैगरी नेकपा परासीले पनि प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई जिल्ला इन्चार्ज सुमन, नेताहरु डा. शिवशंकर बस्याल, रामप्रित हरिजन, पृथ्वी ढकालले सम्बोधन गरेका थिए ।