नवलपरासी ।
विजयादशमी नजिकिँदै गर्दा नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ६ मा दुर्गा मूर्ति निर्माणको चटारो सुरु भएको छ। स्थानीय कलाकारहरू बिहान–साँझ माटो संकलनदेखि मूर्तिको अन्तिम सजावटसम्म खटिरहेका छन्।
मूर्ति निर्माणमा पहिलो चरणमा बाँस र काठको अस्थि संरचना तयार गरिन्छ। त्यसपछि कपडा बेरेर माटोको तह लगाइन्छ। माटो सुकेसँगै तह थपिँदै जान्छ। अन्तिममा रङ्ग र सजावट गरेर मूर्ति पूरै तयार पारिन्छ।
कलाकारका अनुसार दशैं नजिकिँदा माग धेरै हुने भएकाले भ्याई नभ्याई हुन्छ। यसै समयमा राम्रै आम्दानी पनि हुने भएकाले उनीहरू उत्साहित देखिन्छन्।
स्थानीय कलाकार रामु साह भन्छन्, “दशैं आउनासाथ मूर्ति बनाउन समय पाउँदैनौं। हरेक गाउँमा दुर्गा मूर्ति बनाइन्छ। यसैमा हाम्रो वर्षको ठूलो आम्दानी हुन्छ।”
नेपालमा दुर्गा मूर्ति स्थापना गरेर पूजा गर्ने परम्परा पुरानै हो। इतिहासकारका अनुसार मल्लकालीन कालदेखि दुर्गा स्थापना गर्ने संस्कार नेपालमा सुरु भएको मानिन्छ। तराईका अधिकांश गाउँमा दुर्गा मूर्ति बनाउने र पूजा गर्ने चलन अहिले पनि व्यापक छ।
पूजामा दुर्गा सप्तशतीको पाठ, परम्परागत मन्त्र, आरती र बलिदानजस्ता विधि गरिन्छ। यसलाई धार्मिक संस्कार मात्र नभई सामुदायिक मेलापात र एकताको पर्वका रूपमा लिइन्छ।
विजयादशमीको अवसरमा दुर्गा मूर्ति निर्माण र पूजा संस्कृतिले स्थानीय समुदायलाई आस्था, संस्कृति र कला–परम्परासँग गहिरो रूपमा जोड्दै आएको छ।















