नवलपरासी, १७ असोज ।
पश्चिम नवलपरासीको दक्षिणी सीमामा रहेकाे महेशपुर भन्सार नाका पनि आज आइतवार विहान साढे ७ बजेदेखि खुल्ला गरिएकाे छ । सीमा खाेलिएपछि भारतीय बजार ठुठीबारीका व्यापारीले सडकमा पटाखा पड्काएर खुशियाली मनाएका छन् । विगत १९ महिनादेखि सीमाकाे आवतजावत बन्द भएदेखि व्यापार ठप्प भएकाे थियाे ।
कोभिड–१९ का कारण करिव १९ महिना देखि बन्द हुंदा नेपालका स्थानिय सिमावर्ती क्षेत्रका नागरीकका साथै नेपालमा समेत सामान पैठारी हुन सकेकाे थिएन । देशका बिरगञ्ज सुनाैली जस्ता नाका मालसामानका लागि खाेलिएपनि महेशपुर नाका पुर्ण रूपमा बन्द गरिएकाे थियाे । जसले सबभन्दा बढी मार स्थानीयलाइ पारेकाे थियाे ।
मानिसकाे आवागमन समेत ठप्प हुंदा ओैषधि उपचार तथा दैनिक उपभाेग्य वस्तुकाे लागि समेत सम्बन्ध टुटेकाे थियाे । नाका खाेलिएपछि स्थानीयमा खुशियाली छाएकाे छ । भारतीय बजार ठुठीबारीका व्यापारीहरू खुशियाली मनाएका छन् । सडकमा सेल्फि, तस्विर खिचाउने देखि लिएर पटाखा समेत पड्काएर खुशी साटासाट गरेकाे देख्न पाइयाे ।
भारतीय अर्धसैनिक बल एसएसबीका अफिसर तथा भारतीय अन्य विभागका अफिसरहरू उपस्थित भइ नाकामा लगाइएकाे गेट खाेलेर आवागमन सुचारू गरेका थिए । भारतीय पक्षले नाका खाेल्ने बितिकै मानिसकाे आवतजावत शुरू भएकाे थियाे तर नेपालमा रहेकाे महेशपुर भन्सार कार्यालयले सेवा दिन ढिलाइ गरेकाे गुनासाे छ ।
सीमा खुलेपछि भारतीय सवारी साधन आउदा भन्सार राजश्व तथा सुविधा पास बनाउनुपर्ने तथा नेपाल प्रवेश गर्न दिने कार्यमा भन्सार कार्यालय लापरवाही गरेकाे स्थानीय व्यापारीले बताएका छन् ।
नेपाल तर्फको नाका हिजो देखि खुल्ला गरी नाकामा हेल्पडेस्क स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिए।





