दोस्रो चरणमा कहाँ कहाँ हुँदैछ निर्वाचन ?

32

मंसिर २१ गते दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्ता कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने पनि आयोगले जनाएको छ ।

उम्मेदवारहरुले आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यस निर्वाचनमा ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ सदस्य र प्रदेशसभाका लागि २५६ सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयनको फारम लैजानुका साथै शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गर्ने क्रम सुरु भएको आायोगले जनानएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले मनोनयनपत्रका साथ नेपाली नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, धरौटी जम्मा गरेको रसिद वा भौचर र दलको उम्मेदवारको हकमा आधिकारिक हस्ताक्षरसहितको दलको औपचारिक पत्र बुझाउनुपर्ने छ ।

मनोनयपत्रमा प्रस्तावक, समर्थक तथा उम्मेदवारको सहीछाप गरी पेश गर्नुपर्दछ । धरौटी रकमको हकमा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार निर्धारण गरिएको छ ।

महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरूपले विपन्न उम्मेदवारको हकका धरौटी रकममा ५० प्रतिशत छूट हुने व्यवस्था रहेको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्ने छ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुने व्यवस्था छ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा कहाँ कहाँ हुँदैछ निर्वाचन ?

प्रदेश नम्बर १

इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी

प्रदेश नम्बर २

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट

प्रदेश नम्बर ३

सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडांै, ललितपुर र भक्तपुर

प्रदेश नम्बर ४

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत,

प्रदेश नम्बर ५

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलबस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया,

प्रदेश नम्बर ६

सल्यान, सुर्खेत र दैलेख

प्रदेश नम्बर ७

कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी जिल्लामा आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम रहेको छ । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८५२ जना मतदाताले मतदान गर्नेछन् ।