काठमाडौं, चैत १४
नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। केहीबेरअघि सुरु भएको बैठकले पार्टीको धारणा सार्वजनिक गर्नुका साथै आगामी संघर्षका कार्यक्रम तय गर्ने जनाएको छ।
पार्टी सचिव महेश बस्नेतका अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयमा धारणा स्पष्ट पार्न बैठक आह्वान गरिएको हो।
उनले भने, “अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरेपछि पार्टीको धारणा स्पष्ट गर्न र आगामी संघर्षका कार्यक्रम तय गर्न सचिवालय बैठक बसिरहेको छ।”
भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई शनिबार बिहान निवासबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो।
हाल उनलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ, जहाँ उनको स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ भने एमालेले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ।















