बर्दघाट, ११ मंसिर २०८२ ।
पश्चिम नवलपरासीस्थित सौर्य विक्रम खड्का स्मृति फाउन्डेसनले चिसो मौसमलाई लक्षित गर्दै बर्दघाट–७ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय माकर बेतहानीका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालय प्राङ्गणमै आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई न्यानो टोपी, स्वेटर, मोजा, कापी, कलम, झोला लगायतका सामग्री प्रदान गरिएको विद्यालयका शिक्षक बोल्गा नेपालले जानकारी दिनुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिखु (कैलास) थारुको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथि तथा फाउन्डेसनकी अध्यक्ष प्रतिमा सिंहले आफू विद्यालयमा अध्ययन गरेको समयमा भवन नभएको, भुईँमा जुटको बोरा ओछ्याएर पढेकाे कठिनाइ सम्झँदै अहिले सोही विद्यालय सुविधा सम्पन्न भई विद्यालयकाे प्रगति बढिरहेको देख्दा खुशी भएको बताउनुभयो । उहाँले आफ्ना छोरा स्व. सौर्य विक्रम खड्का तथा स्व. बुवा आमा कृष्ण बहादुर सिंह र बुन्ना देवी सिंहको सम्झनामा प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको जानकारी दिनुभयो।
फाउन्डेसनकी सदस्य शुष्मा सिंहका अनुसार यस वर्ष राष्ट्रिय माध्यमिक विद्यालयकाे नर्सरीदेखि कक्षा ५ सम्मका २५७ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय समुदायको साथ र विश्वासले संस्थाको सामाजिक सेवा कार्य अझै प्रभावकारी बन्दै गएको बताउनुभयो।
गत वर्ष पनि फाउन्डेसनले जितपुर प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण तथा १ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरि ओैषधी समेत वितरण गरेको स्थानीय समाजसेवी माया रेग्मीले उल्लेख गर्नुभयो।
फाउन्डेसनका सदस्य सरोज जि.सि.ले फाउन्डेसनले शिक्षा र स्वास्थ्य आवश्यक भएको हुदा, वालवालिकालाई यो सानाे सहयोगले शैक्षिक सामग्री र न्यानो लुगा वितरणले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि, आत्मबल र उत्साह बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक शेषकान्त पौडेलले फाउन्डेसनले प्रदान गर्दै आएको निरन्तर सहयोग प्रशंसनीय रहेकोले संस्थाका सबै टिमलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक–कर्मचारी, अभिभावक, पत्रकार, व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।















