पप्पु रेग्मी, बर्दघाट, ५ मंसिर २०८२
पश्चिम नवलपरासी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, भुताहा शाखाले एक दिने वित्तीय शिक्षा कार्यक्रम भुताहामा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाकी सदस्य गीता कुमारी डुम्रेको अध्यक्षता तथा बर्दघाट– ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि चापागाईंले वित्तीय शिक्षा जीवनयापनसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्दै आय–व्यय व्यवस्थापन, अनावश्यक खर्च नियन्त्रण, नियमित बचत तथा घरव्यवहार सुधारका लागि यस्तो प्रशिक्षण अत्यावश्यक हुने बताउनुभयो।
कार्यक्रममा गाेपिगंज उपशाखाका प्रबन्धक सुमन उपाध्याय, स्टेशन प्रमुख तथा प्रशिक्षक लोकनाथ योगी कुँवर, प्रेम नारायण कुर्मी लगायतले खर्च नियन्त्रण, बचत अभिवृद्धि, ऋणको सदुपयोग, गैरकानूनी कारोबारबाट जोगिने उपाय, जीवन तथा निर्जीव बीमा लगायत विषयमा आफ्नो शाखाका सदस्यहरूलाई प्रशिक्षण प्रदान गर्नु पर्ने धारणा राख्नुभएको थियो ।
वित्तीय शिक्षाका प्रशिक्षक लाेकनाथ याेगी कुँवरले “खर्च गर्नु अघि दुई पटक सोचेपछि मात्र निर्णय गर्ने”, इच्छा नियन्त्रण गर्ने तथा आय अनुसार योजना बनाएर खर्च गर्ने बानीले आर्थिक स्थायित्व मजबुत बनाउने उल्लेख गर्नुभयो। ऋणलाई उद्देश्य अनुसार सदुपयोग नगरेमा कालोसूचीमा पर्नुपर्ने अवस्था आउने भएकाले सचेत रहन सहभागीहरूलाई उहाँले आग्रह गर्नुभयो।
कार्यक्रमका सहभागीहरूलाई लघुवित्त संस्थाबाट उपलब्ध कर्जा तथा बचत सुविधाबारे पनि विस्तृत जानकारी गराइएको थियो।
साे अवसरमा संस्थाले समुह बचत, साधारण बचत, मासिक बचत, उज्यालो भविष्य बचत, कोपिला बचत, ग्लोबल दैनिक बचत, गृहलक्ष्मी बचत, ऋणी बचत गरी ८ प्रकारका बचत योजनाहरू सञ्चालन गर्दै आएको जानकारी प्रेम नारायण कुर्मीले दिनुभयो।
कार्यक्रमको स्वागत शाखा प्रबन्धक चिरञ्जीवी उपाध्यायले गर्नुभएको थियो भने सञ्चालन सुमन उपाध्यायले गर्नुभएको थियो।















