नवलपरासी । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय सम्पर्क कार्यालय उद्घाटन गरेको छ।
प्रतापपुर गाउँपालिका संयोजक बृजराज कुशवाहाको सभापतित्व तथा जिल्ला सभापति महेन्द्र सेन ठकुरीको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा बोल्दै ठकुरीले रास्वपा परिवर्तनको संवाहक पार्टी भएको उल्लेख गर्दै हरेक सिपाहीले घर–घरमा पुगेर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले “परिवर्तनका लागि हामी सबै आजैदेखि लाग्नुपर्छ,” भन्दै कार्यकर्तालाई सक्रिय हुन आह्वान गर्नुभयो।
कार्यक्रममा प्रदेश कार्य समिति सदस्य शिवप्रसाद गैरे ले भ्रष्टाचारको अन्त्य र देशमा सुशासन स्थापना गर्न रास्वपा स्थापना भएको बताउँदै यस सन्देशलाई जन–जनसम्म पुर्याउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले देशलाई विकासशील बनाउने आधार घण्टीमा मतदान भएको उल्लेख गर्नुभयो।
विशेष अतिथि तथा रास्वपाकी समानुपातिक उम्मेदवार रीमा विश्वकर्मा ले युवापुस्तामाथि भइरहेको अन्याय र देशभर फैलिएको चरम भ्रष्टाचार अन्त्यका लागि सबल सरकार आवश्यक रहेको बताउँदै घण्टीमा मतदान गर्न आग्रह गर्नुभयो।
नवलपरासी निर्वाचन क्षेत्र नं. १ का रास्वपा उम्मेदवार बिक्रम खनाल ले युवाको विदेश पलायन रोक्न भ्रष्टाचार अन्त्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले कृषिमा सरकारी खरिद केन्द्र स्थापना गरी किसानको उपज उचित मूल्यमा खरिद गर्ने, सहज सिँचाइ र बजारीकरणको व्यवस्था गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। समयमा मल–बिउ, उपचार र रोजगारीको सुनिश्चितताका लागि घण्टीमा मतदान गरी “आफ्नो देश आफैँ बनाऔँ” भन्ने सन्देश दिनुभयो।
कार्यक्रमका सभापति तथा प्रतापपुर गाउँपालिका संयोजक बृजराज कुशवाहा ले ठूला दलहरूले सत्ता एकाधिकार कायम राख्दा देशमा रोजगारीको अभाव, बढ्दो भ्रष्टाचार र सुशासनको कमी देखिएको बताउनुभयो। यिनै कारणले जन्मिएको जेन–जी आन्दोलनले उठाएको परिवर्तनको आवाजलाई स्थापित गर्न रास्वपा आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा एक सयभन्दा बढी सक्रिय कार्यकर्ताको उपस्थिति रहेको थियो।















