काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि मंगलबार भएको दुर्व्यवहारप्रति निन्दा व्यक्त गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार विशेष महाधिवेशनको माग गर्दै प्रदर्शन गरिरहेका नेता–कार्यकर्तासँग उपसभापति निधिको नोकझोक भएको थियो। सो क्रममा निधिमाथि दुर्व्यवहार भएको भन्दै रास्वपा प्रवक्ता झाले सामाजिक सञ्जालमार्फत खेद प्रकट गरेका हुन्।
सामाजिक सञ्जालमा लेख्दै झाले नेतृत्वमा नयाँ पुस्ताको दाबी स्वाभाविक भए पनि पुराना पुस्ताका नेताप्रति सम्मान कायम रहनुपर्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “नेतृत्वप्रति नयाँ पुस्ताको दाबी स्वाभाविक हो, तर पुरानो पुस्ताप्रति सम्मान यथावत् रहनुपर्छ। तसर्थ आज ललितपुर सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार निन्दनीय छ। म खेद व्यक्त गर्दछु।”
मनिष झा र विमलेन्द्र निधि दुवै धनुषा जिल्लाका स्थायी बासिन्दा हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता निधि चुनाव लड्दै आएको धनुषा क्षेत्र नम्बर–३ बाट झाले पनि आकांक्षा देखाएका थिए। तर टिकट वितरणमा आर्थिक माग भएको आरोप लगाउँदै उनले कांग्रेस परित्याग गरी रास्वपा रोजेका थिए। रास्वपामा प्रवेशपछि भने झा समानुपातिक प्रणालीमार्फत सांसद बनेका थिए।















