ओली–दाहालको घरमा पनि पूर्जी टास्छौंः चन्द
शिव डुम्रे, बुटवल
फाल्गुन २२ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले सहिदका सपनाहरु पूरा गर्ने दिन आएको बताएका छन् ।
राज्यको परिवर्तनको लागि लडेका सहिदहरुका परिवारलाई आज राज्यले अपमान गरेको भन्दै चन्दले आफूहरु सहिदले देखाएको बाटोमै अगाडी बढेको र सहिदका सपना पूरा गरिछाड्ने प्रतिबद्धता गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले आयोजना गरेको सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान कार्यक्रममा बोल्दै नेता चन्दले नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला तथा अन्य नेताहरुको घरमा पक्राउ पूर्जी टास गरेको भन्दै आफूहरुले पनि प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको घरमा पूर्जी टास्ने चेतावनी दिए ।
उनले पछिल्लो समय राज्यले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुका घरमा पुर्जी टास्ने, अनावश्यक धरपकड गर्नु राज्यले आफूलाई कमजोर भएको महसुस गरेको भन्दै प्रचण्डले भ्रष्टचार निर्मुल पार्ने भनेर दिएको अभिव्यक्ती हास्यास्पद रहेको बताए । कार्यक्रममा जिल्ला ईन्चार्ज शरद वली, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक, सहिद तथा बेपत्ता परिवार समाजका अध्यक्ष जया पौडेल लगायतले सहिदका सपानाहरु पूरा गर्न दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।
१० बर्षे जनयुद्धम रुपन्देहीमा ६९ जना सहिद तथा बेपत्ता भएका थिए । सहिद तथा बेपत्ता परिवारलाई प्रत्येक बर्ष सम्मान गर्ने गरेको छ । विप्लवको हस्ताक्षरीत सम्मान पत्र, फलपूmल तथा नगदसहित अविर लगाएर सहिद परिवारलाई अभिनन्दन गरिएको थियो ।
नवलपरासीमा विप्लव र बैद्यको संयुक्त कार्यक्रमः
सहिद सप्ताहाको अवसर नवलपरासीको बर्दघाट स्थित नेपाल कम्युनिष्ट पार्टी र नेकपा (क्रान्तिकारी) माओवादीले संयुक्त रुपमा जनक्रान्तिका महान सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा नेकपाका पोलिट्व्यूरो सदस्य चन्द्रबहादुर चन्दले सहिदका सपनाहरु पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट्व्यूरो सदस्य प्रेम सुवेदी प्रमोदले क्रान्तिकारीहरुलाई पूजीवादी राज्यले गर्ने व्यवहार यस्तै हुने र यससँग डटेर क्रान्तिको लागी लाग्नुपर्नेमा जोड दिए । राज्यले सहिदको अपमान गरेपनि आफूहरुले प्रत्येक बर्ष सहिदहरुलाई सम्झने भन्दै उनले अब सहिदका सपना पूरा गर्न सहिदका परिवारहरु फेरी पनि एकपटक बलिदानको लागी तयार रहनुपर्ने बताए । यस्तै कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य अशोक लम्साल, नेकपाका नवलपूर ईन्चार्ज पदम केसी, नवलपरासी ईन्चार्ज सुमन ज्ञवाली, सहिद परिवार समाजका अध्यक्ष देवीलाल खनाल लगायतले बोलेका थिए ।
नवलपरासीमा ३३ जना सहिद र १ जना बेपत्ता परिवारलाई नेकपाले विप्लवको हस्ताक्षरीत सम्मान पत्र, नेकपा (क्रामा)को बैद्यको हस्ताक्षरीत सम्मान पत्रले विशेष सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेकपाका परासी सेक्रेटरी शिवशंकर बस्यालले गरेका थिए भने, सञ्चालन नेकपा (क्रामा)का नेता क्षेत्रबहादुर थापाले गरेका थिए । यस्तै अबका सबै कार्यक्रमहरु संयुक्त रुपमा गर्ने सो पार्टीका नेताहरुले बताएका छन्, दुई पार्टीबीच क्रान्तिकारी धुव्रिकरण, कार्यगत एकता हुँदै पार्टी एकतासमेत हुने चर्चा चलिरहेको छ ।