रुपन्देही, असार २४ ।
सञ्चारकर्मी तथा सूचनाको अधिकारकर्मी राम विकास चौधरीलाई सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले ज्यानमार्ने धम्की दिएका छन् ।
भ्रष्टाचारका विषयमा समाचार लेख्दै आएका सञ्चारकर्मी चौधरीले सूचना माग गर्दै निवेदन हालेकोमा सूचना लिनका लागि कार्यालय पुगेका चौधरीलाई गाउँपालिका अध्यक्ष शुक्लले गालीगलौज गर्दै धम्क्याएकाेे भनी पत्रकार चाैधरीले प्रेेेस विज्ञप्ति मार्फत जनाएका छन् ।
शुक्लले ज्यानमार्ने दिएपछि पत्रकार चौधरीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुपन्देहीमा जीवन रक्षा तथा शान्ति सुरक्षाको पहल गर्दै आवश्यक कारवाही गरिपाउँ भन्दै निवेदन दर्ता गराएका छन् ।
विज्ञप्तिमा पत्रकार चौधरीले शान्ति सुरक्षाको माग गर्दै छानविन गरी दोषीलाई कारवाही हुनुपर्ने माग राखेका छन् । सूचना लिन भन्दै असार २१ गते कार्यालय समयमा सम्मरीमाई गाउँपालिकाको जिगिना–केरहवास्थित कार्यालय उनी पुगेका थिए ।
उनले गत २८ गते सो गाउँपालिकाको कार्यालयमा ईन्धन आपूर्ति सम्बन्धि बिभिन्न सुचना माग गर्दै निबेदन दर्ता गराएका थिए ।
उनले दर्ता गराएको निवेदनको दर्ता नं.१७९ हो । सोही सूचना लिन कार्यालय पुगेका चौधरीलाई नियतबस कार्यालयका प्रमुख प्रशासकीय अधिकृत टुकराज पाण्डेले केही समय पर्खन आग्रह गरे ।
पाण्डेसँग कुराकानी हुँदैगर्दा रक्सीले मात्तिएका गाउँपालिका अध्यक्ष शुक्ल आएर अपशब्द प्रयोग तथा दुब्र्यवहार गर्दै हात समाति कार्यालय बाहिर धकेलेको पीडित पत्रकार चौधरीले बताएका छन् ।
शुक्लले ‘तलाई सूचना दिन्न, जे गर्न सक्छस् गर, जति लेख्नु छ लेख, तर अब लेख्दा हात र जीउज्यानको सुरक्षाको जिम्मेवार आफै हुनुपर्ने भन्दै थर्काएका थिए ।
शुक्लले आफु गोरखपुरको गुण्डा भएको भन्दै ज्यानमार्ने धम्की दिएको पत्रकार चौधरीको भनाई छ । यसअघि पत्रकार चौधरीले ‘संविधान बिपरित अध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन’ तथा ‘सरकारी सवारी शाधनको निजी नम्बर प्लेट राखेर दुरुपयोग’ शिर्षकमा सो गाउँपालिका सम्वन्धित समाचार यसै अनलाइनमार्फत सार्वजनिक लेखेका थिए ।
अध्यक्ष शुक्लले वडा नं. ३ का जेष्ठ नागरिकलाई असार ३ गतेको प्रचण्ड गर्मीमा जाडोमा प्रयोग हुने कम्बल बाँडेको समाचार प्रकाशित भएपछि पत्रकार चौधरीप्रति उनी आक्रामक बन्दै आएका छन् ।
शुक्लले आफूलाई गोरखपुरको गुण्डा भएको बताउँदै पत्रकार चौधरीलाई ज्यानमार्ने धम्की दिएका हुन् । सम्मरीमाई गाउँपालिकाको अध्यक्षजस्तो गरिमामय पदमा बसेर आफुलाई भारतको गोरखपुर घर भएको बताउने तथा आफु गोरखपुरको खतरनाक गुण्डा भएको भन्दै पत्रकारलाई धम्क्याउने शुक्लकाे चाैतर्फी निन्दा भएकाे छ ।