पप्पु रेग्मी, बर्दघाट । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १६ को सार्वजानिकीकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर १६ को आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गरिएको योजनाहरुको सार्वजनिकीकरण हाे । वडा नम्बर १६ को वडा अध्यक्ष भिमकाजी गुरूङकाे अध्यक्षता बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै, वडा नम्बर ५ र १६ लाई जोड्ने खजुरा खाेलाकाे पुल निर्माण कार्यलाई ठेकेदारले छाेडेर अलपत्र पारेर छाेडी हिडेकाेले निर्माण कार्यमा ढिला भएको हुदा, नगरले प्रशासन पनि गुहार्नु परेको र अहिले ठेकेदारका मान्छे सम्पर्कमा आएकाेले अब पुल बनाउने काम शुरू भएको जानकारी दिनुभयो ।
जनताको दैनिकिसंग जोडिएको खजुरा खोलाको पुल अलपत्र पर्न नदिने र यसका लागि नगरले विशेष महत्त्व दिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । सोही अवसरमा बर्दघाट नगर उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले वर्ष भरीमा आफ्नो वडामा के कति बजेट आयो ? कुन-कुन क्षेत्रमा के कति खर्च भयो ? भनेर जानकारी पाउन सकिने खालको सार्वजनिकीकरण कार्यक्रम गरेकोमा वडालाई आभर प्रकट गर्दै, स्थानीय सरकारले गरिरहेका हरेक गतिविधिमा जनचासो हुने आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष भिमकाजी गुरुङले वडा स्तरीय बजेटको कार्यान्वयनको विवरण सार्वजनिक गरेको प्रतिवेदनमा वडा भित्र सञ्चालनमा रहेका विद्यालय तथा सार्वजनिक स्थानहरूमा विभिन्न स्थानीय, प्रदेश र संघिय सरकारबाट प्राप्त अनुदान, नगरबाट शिर्षक परिवर्तन भइ वडामा सम्पन्न भएका कार्यहरूको सार्वजनिक गर्नुभयो ।
आर्थिक वर्षमा ०७९/८० मा जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, बसाइँसराइ दर्ता गरी ३ सय २ वटा घटना दर्ता भएकाे वडाले गत वर्ष सम्पती कर, मालपोत कर, विविध सिफारिस दस्तुर, घटना दर्ता, वहाल कर गरि ९ लाख २३ हजार ९ सय ८८ रुपैया राजस्व संकलन गरेको वडा अध्यक्ष गुरूङले बताउनुभयो।
कार्यक्रममा वडा नम्बर ५ की वडा अध्यक्ष बिमला गुरुङ, बर्दघाट नगर प्रवक्ता एवं बर्दघाट १४ का वडा अध्यक्ष सन्त बहादुर गाहा, स्थानीय दुर्गानाथ तिवारी, दुर्गा सापकोटा, युवराज भण्डारी, लालमाया बोहरा, नेकपा माओवादी केन्द्रका नेता बेतन प्रसाद गुरुङ, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कृष्ण प्रसाद पाण्डे लगायतले बोल्दै वडा भित्रको सार्वजनिक जग्गा, सेवा प्रवाह, कृषि, पशुपालन, बिकास निर्माण, शिक्षा, स्वास्थ्य, सिचाइ, बिद्युतिकरण, सडक निर्माण र नालालगायतका बिषयमा प्रश्न उठाउनु भएको थियो । निवर्तमान वडा अध्यक्ष शुक बहादुर गुरुङले बिगतमा आफूले गरेकाे अधुरा याेजनाहरुको निरन्तरता दिदा, त्यस योजना अनुसार आफूहरूसंग आवश्यक समन्वय नगरि वर्तमान जनप्रतिनिधिहरूले काम गरेको गुनासो गर्नुभयो ।
स्थानीयहरुले राखेको प्रश्नहरुको जवाफ वडा बर्दघाट नगरका सामाजिक विकास समिति संयोजक तथा वडाअध्यक्ष गुरुङले बर्दघाट नगरपालिका र वडा कार्यालयले जनतालाई चुस्त र दुरुस्त सेवा प्रवाह गरिने बताउनु भयो । वडा सदस्य नर कुमारी गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा सचिव थम बहादुर गोतामेले गर्नु भएको थियो ।