नेपाल र चीनबिचको पारस्परिक सम्बन्धलाई थप सुमधुर बनाउँदै सांस्कृतिक सुदृढीकरण र लुम्बिनीलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख १२ देखि १४ सम्म लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ।
लुम्बिनी विकास कोष, सारिपुत्र फाउन्डेसन, चाइना कल्चर प्रमोसन सोसाइटी, वर्ल्ड एलायन्स फर बुद्धिस्ट कल्चरल एक्सचेन्ज लिमिटेड, युङ्जाउ सुलेख र चित्रकला एकेडेमी, चोङ्क्यियुङ हायुन सांस्कृतिक शिक्षा प्रतिष्ठानबिच समझदारी कायम गर्दै चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुन लागेको लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोकाले जानकारी दिए।
सयभन्दा धेरै राष्ट्रबाट बौद्ध धर्मका विद्वान् तथा धार्मिक गुरु र अनुयायीहरू सहभागी हुने उक्त कार्यक्रम तीन दिन चल्नेछ। महोत्सवमा सांस्कृतिक कार्यक्रम, धार्मिक र बौद्ध इतिहास, बौद्ध दर्शनको धार्मिक महत्त्व र लुम्बिनीको इतिहास उजागर गर्दै विश्वभर लुम्बिनीको प्रचार गर्ने लक्ष्य राखिएको छ। साभारः नयाँ पत्रिका