पप्पु रेग्मी, बर्दघाट,साउन–२५
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ७ जिमिरेभारमा रहेको रेग्मी किराना पसलमा बिक्रिका लागि राखिएको रियो जुसमा किरा भेटिएको छ । जिमिरेभार स्थित रेग्मी किराना पसलमा पसल सञ्चालकसंग बर्दघाट नगरपालिका वडा नं. ७ का वडाध्यक्ष धु्र्व थारुलेचिसो रियो जुस मागेर खान लाग्दा आफुले खान लागेको रियो जुसमा किरा भएको पाईएको बताउनु भएको छ।
जुसमा किरा भएको भेटिएपछि वडा अध्यक्ष थारुले बर्दघाट नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्यायलाई जानकारी गराएसंगै अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्याय उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्य नगर प्रहरीको टोलिले रेग्मी किराना पसलमा बिक्रिका लागि राखिएको रियो जुसमा किरा भेटिएको अनुगमन गर्न पुगेको थियो।
अनुगमनका क्रममा जुसमा किरा भएको पाएपछि पसलमा भएको सबै चुस्की बरामद गरी पसलले खरीद गर्ने गरेको बर्दघाट–१४ चौपत्ताको जय कालिका ट्रेडसको समेत अनुगमन गरिएको थियो ।
जय कालिका ट्रेडसको अनुगमन पछि रियो जुस उत्पादक कम्पनि कालिका खाद्य उद्योग, बर्दघाट–९ पञ्चनगर पुगेर वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई र वडा सदस्य दिपक खराल सहितको टोलिले कम्पनिको अनुगमन गरेको उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिका सचिव कुस्माखर ढकाल ले बताउनुभयो ।
अनुगमनका क्रममा उद्योग सञ्चालनको प्रमाण पत्रमा उल्लेख भए अनुसारको प्याकिङ्ग कभर नभएको र खाद्य परिक्षणको रिपोर्ट देखाउन नसकेकाले बजारका सबै चुस्की फिर्ता गर्ने र दुबै कुराको १० दिन भित्र प्रमाण पुराएर नगरलाई जानकारी गराएर मात्र रियो जुस उत्पादन गर्ने गरी प्याकिङ्ग कभर नगरले आफ्नो नियन्त्रणमा लिएको छ ।