राष्ट्रपति पौडेलबाट ६७० जनाले पाए सजाय माफी

19

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरूको सजाय माफी दिएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

उनीहरु बुधबार छुट्ने भट्टराईले बताए। जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, कारागार नियमावली, २०२० को साविकको नियम १ र १क. लाई कायमै गर्ने गरेको सर्वोच्च अदालतको रिट नम्बर ०७६-WO-०९३९ र रिट नम्बर ०७९-WH–०१४७ को फैसला तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ समेतका आधारमा संलग्न सूची बमोजिमका उल्लिखित भीमबहादुर खवास समेतका ४९७, हर्कबहादुर लिम्बु समेतका १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँ समेत जम्मा ३ जना गरी कूल जम्मा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने मन्त्रिपरिषद्को मिति २०८०/०५/२९ को बैठकको सिफारिस बमोजिम मिति २०८०/०६/०३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ।’ अन्नपूर्णपोस्ट