रूपन्देही । उपराष्ट्रपति राम सहाय प्रसाद यादवले नेपाली बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन भारत सरकार र भारतीय दुतावासले गरेको सहयोग प्रशंसनीय रहेको बताएका छन् । उनले दुई देशको सम्बन्ध धार्मिक, सांस्कृतिक र प्राचीनरुपले नै अतुलनीय रहेको जनाउँदै नेपालको विकास साझेदार बनेकोमा भारत सरकारलाई धन्यवाद दिए ।
आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–२, पोखरभिण्डीमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको पोखरभिण्डी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालको भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यमा भारतले गर्दै आएको सहयोगले मुलुकको विकास र समृद्धिमा टेवा पुगेको जनाए । ‘विशेष गरेर शैक्षिक क्षेत्रमा भारतको सहयोग महत्वपूर्ण छ, यसले नेपाली विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुगेको छ’, उनले भने ।
विनाभिसा दुई देशका नागरिक आवतजावत गर्न सक्ने गरी स्थापित नेपाल–भारत सम्बन्ध अन्यत्र विरलै पाइने जनाए । ‘दुई देशबीच सदियौंदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अन्य मुलुकका लागि उदाहरणीय मात्रै नभई अद्वितिय र प्रशंसनीय छ’, उपराष्ट्रपति यादवले भने, ‘हाम्रो एकअर्का देशमा विहेबारी हुन्छ, धामिर्क तथा सांस्कृतिक चालचलन र रितिरिवाज मिल्छन्, यसले हाम्रो सम्बन्ध प्रगाढ बनाएको छ ।’
उपराष्ट्रपति यादवले शैक्षिक क्षेत्रको विकासमा सबै पक्ष र वर्गले सहयोग गर्न आवश्यक रहेको जनाए । कार्यक्रम मा नेपालका लागि भारतीय कार्यबाहक राजदुत प्रशन्न श्रीवास्तवले भारतले नेपालसँगको सहकार्यलाई अझै मजबुत बनाउँदै लगेको बताए । उनले नेपालको विकासमा साझेदार बन्न पाएकोमा खुशी व्यक्त गर्दै खासगरी शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर भारतले सहयोग गरिरहेको जानकारी दिए ।
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्माले भारतले नेपालको शैक्षिक विकासमा गरेको योगदान महत्वपूर्ण रहेको जनाए । उनले विद्यालय पूर्वाधार सम्पन्न हुँदा विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन पनि सहयोग पुग्ने बताए ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले पूर्वाधारसँगै पठनपाठन राम्रो भए विद्यालय शिक्षा सुध्रिने जनाए । उनले शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले योजनाबद्धरुपमा काम गरिरहेको बताए । मन्त्री गुप्ताले नेपालको विकास साझेदार भएर सहयोग गर्दै आएको भन्दै भारतीय राजदुताबासलाई धन्यवाद व्यक्त गरे ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले दशक अघि विद्यालय भवन निर्माण भए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको जनाउँदै उपराष्ट्रपतिको हातबाट उद्घाटन गराउन पाउँदा गाउँपालिकाबासी हर्षित रहेको बताए । उनले पालिकाले शैक्षिक सुधारका लागि अनेक प्रयास गरिरहेको र प्रदेश र संघ सरकारको सहयोग जरुरी रहेको जनाए । अध्यक्ष यादवले रोहिणी क्षेत्रमा शैक्षिक विकासमा भारत सरकारको सहयोग स्मरणीय रहेको जनाउँदै आउँदा दिनमा पनि निरन्तर सहयोगको अपेक्षा समेत व्यक्त गरे ।
राप्रपाका युवा नेता प्रज्वल बोहराले समग्र रुपन्देहीको विकासमा आफ्ना बुवा एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराको महत्वपूर्ण योगदान रहेको चर्चा गरे । भारतको अनुदान सहयोगमा नेपाली १ करोड ४९ लाख रुपैयाँ लागतमा २०६९ सालमा पोरखभिण्डी माविको भवन निर्माण गरिएको थियो । दुई तल्लाको उक्त विद्यालय भवनमा १२ वटा कक्षाकोठा छन् । भारतको सीमा नजिक रहेको विद्यालयमा भारतीय विद्यार्थीहरु पनि अध्ययनरत छन् ।