बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य l केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा l `९ अर्ब बाँडेर खाएको´ आरोप फिर्ता लिन बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा l’
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेको भन्दै स्वागत गरेका छन् । उनले सरकारले स्वदेशी लगानीमै बूढीगण्डकी योजना बनाउन देखाएको उत्सुकताप्रति खुसी व्यक्त गरेका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत् आयोजनाबारे ०७५ असोज ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले गरेको निर्णय फिर्ता लिने निर्णय गरेको थियो ।तत्कालीन सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिने निर्णय गरेको थियो । वर्तमान सरकारले ओली सरकारको त्यो निर्णय खारेज गरेर स्वदेशी लगानीमा निर्माण गर्ने भनेकोमा महामन्त्री शर्माले स्वागत गरेका हुन् । ‘हरेक नेपाली डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५, पछि १० रुपैयाँ गरेर बूढीगण्डकीका लागि अर्बौँ रकम जनताबाट उठिसकेको छ । मुआब्जा टुंग्याएर सरकार र निजी क्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्नँ,’ शर्माले इकान्तिपुरसँग भने ।
महामन्त्री शर्माले सामाजिक सञ्जालमा मेन्सन गर्दै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिने नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीलाई आत्मालोचना गर्न र बूढीगण्डकीमा ९ अर्ब भ्रष्टाचार भएको आरोप लगाउने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लज्जाबोध गर्न समेत सुझाएका छन् । ‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य । श्रद्धेय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा । ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन श्रद्धेय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔँ, अब बूढीगण्डकी बनाउन जुटौँ,’ महामन्त्री शर्माले लेखेका छन् ।
बूढीगण्डकीमा तीन नेताले ९ अर्ब खाएको भट्टराईको अभिव्यक्तिले तरंग
एक वर्षअघि गोरखामा आयोजित एक सार्वजनिक कार्यक्रममा भट्टराईले ‘बूढीगण्डकी आयोजनामा केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब कमिसन बाँडेर खानुभएको छ, यो कुरा प्रमाणित गर भने तुरुन्त गर्न सक्छु’ भन्ने दाबी गरेका थिए । लगत्तै त्यतिबेलाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विज्ञप्तिदेखि सामाजिक सञ्जालमार्फत धेरैले भट्टराईलाई त्यस्तो प्रमाण सार्वजनिक गर्न वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउन चुनौती दिएको थियो ।
महामन्त्री शर्माले २०७४ मा कांग्रेस नेतृत्वको सरकारले स्वर्णिम वाग्ले नेतृत्वको कार्यदल बनाई गरेको अध्ययन र प्रस्ताव अनुरुप बूढीगण्डकी ‘स्वदेशी लगानीमा निर्माण गर्ने’ निर्णय गरेको र अहिले पनि कांग्रेस सरकार त्यसैको जगमा अघि बढेको बताए ।
‘ओली सरकारले विवादास्पद कम्पनी गेजुवालाई बिनाप्रतिस्पर्धा सुम्पिने निर्णय गरेर भएको भविष्य अन्योल अब रहनुहुन्नँ,’ उनले भने, ‘१२ सय मेगावाटको विद्युत् उत्पादन मात्रै होइन, फेवातालभन्दा दसौँ गुणा ठूलो जलाशय, बृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डार समेत हुने यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी छ ।’
महामन्त्री शर्माले समृद्धिको साझा दायित्व सबै दलहरूमा रहेको भन्दै त्यसमा सरकार, प्रतिपक्ष र दलहरूले गम्भीर बन्नुपर्ने बताए । उनले आवेगमुक्त साझा अठोट लिएर देश बनाउन कार्यमा जुट्न समेत आव्हान गरेका छन् ।