बुटवल । रूपन्देही स्थित महेन्द्र राजमार्गकाे बुटवल गाेरूसिंगे सडक विस्तार हुने भएकाे छ । पश्चिम क्षेत्रको भविष्यसँग जोडिएको पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने बुटवल–गोरुसिंगे सडक चार लेनको निर्माण गरिने भएको छ।
करिव ६ दशकपछि सडक फराकिलो हुन थालेपछि नागरिकहरू उत्साहित भएका छन्। तर, स्थानीयमा हाल निर्माणाधीन अवस्थामा रहेको बुटवल–नारायणगढ सडकको जस्तो अवस्था हुनसक्ने आशंका भने उस्तै छ। यस सडक अहिले दुई लेनको मात्र छ। बुटवलदेखि गोरुसिंगेसम्मको दूरी ५० दशमलव ६९ किलोमिटर छ।
त्यसमध्ये पहिलो खण्डमा निर्माण गर्नेगरी बुटवलदेखि गोरुसिंगेसम्मको ३१ दशमलव ६९ किलोमिटरको ठेक्का आह्वान भइसकेको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक परियोजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर होम एसीले जानकारी दिए।
बहुवर्षीय योजनाअन्तर्गत पुरै खण्डको सडक निर्माण गर्नका लागि कुल २२ अर्ब बजेट लागत अनुमान गरिएको एसीले जानकारी गराए। ‘तीन वर्षमा सडक स्तरोन्नति गरिसक्ने लक्ष्य छ’,उनले भने,‘बुटवल नारायणगढ सडकले नागरिकहरूमा धेरै निराशा छाएको छ। यो पनि त्यस्तै हुने होकी भन्ने आशंका छ। सबैको साथ र सहयोगबाट हामी त्यसो हुन नदिने अठोटमा छौँ।’
उनका अनुसार गोरुसिंगेदेखि चन्द्रौटा (इमलिया)सम्मको १९ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ। सात महिनाभित्र डीपीआर पूरा हुने एसीले बताए। जंगल क्षेत्रमा २४ मिटर र सहरी क्षेत्रमा ५० मिटरको सडक निर्माण हुने छ। यस परियोजना अन्तर्गत रुपन्देहीको सालझण्डीदेखि कपिलवस्तुको चन्द्रौटासम्मको अधिकांशका खण्ड जंगल क्षेत्रमा पर्छ।
बुटवलको तिनाउ खोला पुलपारीदेखि मैनावगर जाने प्रहरी बिटबाट यसको सुरुवाती विन्दु हुनेछ। एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा सडक स्तरोन्नति हुने परियोजना प्रमुख एसीले बताए। करिव ६२ वर्षपछि सडक स्तरोन्नति हुने खबरले खुशी बनाएको यातायात व्यवसायी नारायण रानाले प्रतिक्रिया दिए। यस सडक भएर दैनिक हजारौँ सवारीसाधनहरू ओहोरदोहोर गर्छन्।
सडक निर्माण क्षेत्रमा रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका र कपिलवस्तुको बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिका पर्छन्। सडक समयमै पूरा गर्नका लागि सबै स्थानीय तहका जनप्रतिनिधिहरू सम्मिलित ‘गुनासो समिति’ गठन गरिने एसीले बताए।
सडक क्षेत्रमा पर्ने घरहरूलाई क्षतिपूर्ति दिने र जनताका गुनासो सुन्ने गरी उक्त समितिले काम गर्ने छ। २०१८ सालमा उक्त सडक निर्माण गरिएको थियो। पूर्व पश्चिम राजमार्गअन्तर्गत बुटवल मध्यखण्ड पर्छ।
निर्माण कम्पनी कुन हाे?
सन् १९५० मा चीनमा स्थापना भएकाे शान्सी कन्स्ट्रक्सन कम्पनी चीनकाे क वर्यकाेकम्पनी हाे । चीनका उत्कृष्ठ ५०० कम्पनी मध्ये पर्दछ । यस कम्पनीले ताइपिङ रिभर ड्याम, सियन इन्टरनेशनल फुटबल सेन्टर, समुद्रमाथि पुल निर्माण लगायत ठुला प्राेजेक्ट बनाएकाे अनुभव संगालेकाे छ । बुटवल गाेरूसिंगे सडकखण्डकाे निर्माण कार्यकाेठेक्का शान्सी र चितवनकाे आशिष निर्माण सेवा जेभीले पाएका छन् । सडक विस्तारकाे काम एसियाली विकास बैंककाे सहयाेगमा हुने भएकाे हाे ।
सडक विस्तारकाे लागि पहिलाे चरणमा ७ अरब ८९ कराेड ४३ लाख र दाेश्राे चरणका लागि ५ अरब ६६ कराेड २२ लाख रकम बिनियाेजन गरिएकाे छ । पहिलाे चरणमा यस सडकखण्डमा सानाठुला ३० वटा पुल, १ सय ५५ वटा कल्भर्ट तथा ६ अण्डरपास र अाेभरपास बनाइने छ । सडक विस्तारकाे लागि ३ वर्षकाे समय ताेकिएकाे छ ।
जनमानसमा आशंका किन?
यस अघि ठेक्का भएकाे बुटवल नारायणगढ १ सय १५ किलाेमिटर सडकखण्डकाे निर्माण कार्य पनि चिनीयांठेकदार कम्पनीले लिएकाे र काम सुस्त गतीमा भइरहेकाेले ताेकिएकाे समय भन्दा बढी लागेरपनि निर्माण प्रगति कछुवा गतीमा रहेकाेले स्थानीयले यस ठेक्का प्रति शसंकित भएका छन् । काम समयमा सम्पन्न नहुनेकाे किभन्ने चिन्ता व्याप्त रहेकाे छ ।